
लक्ष्मी लामा/रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, असार १६ । नेपालमा शक्तिशाली भूकम्प गएको तीन वर्ष बितिसकेको छ । तर, पुनःनिर्माणको काम अझै सन्तोषजनकरुपमा हुन सकेको छैन ।
भूकम्पप्रभावितहरु टहरोमै जीवन बिताउन बाध्य भएका छन् ।
वि.सं. २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले मुलुकका करिब ८ लाख घर भत्किएका थिए । तीमध्ये अहिलेसम्म १ लाख ८८ हजार घरमात्र पुनःनिर्माण भएका छन् ।
पुनःनिर्माणलाई प्रभावकारीरुपमा अघि बढाउन सरकारले गठन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अहिले करिब ५ लाख घर बन्दै गरेको जनाएको छ । अझै करिब डेढ लाख घर बनाउन सुरु नै भएको छैन ।
निजी आवास पुनःनिर्माणको काम सुरु नहुँदा हजारौं भूकम्पप्रभावितहरु अझै टहरोमै बस्न बाध्य हुँदै आएका छन् । तर, आगामी दुई वर्षभित्र सबै घरको पुनःनिर्माण सकिने पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म पुनःनिर्माण सुरु नभएका आवास निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिने तयारी भइरहेको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले बताए ।
पुनःनिर्माणका लागि छुट्याइएको ८ अर्ब रुपैयाँ वितरण गर्न बाँकी छ । प्राधिकरणले छिटोभन्दा छिटो घर निर्माण गरेर अनुदान सहयोग लिन आग्रह गरेको छ ।
भूकम्पका कारण निजी घरबाहेक ७५३ ओटा सम्पदा भत्किएका थिए । तीमध्ये ११६ ओटाकोमात्र पुनःनिर्माण सम्पन्न भएको छ भने ३२६ ओटा निर्माणाधीन छन् । अझै ३११ ओटा सम्पदाको पुनःनिर्माण सुरु नै भएको छैन ।
समग्रमा हेर्दा ६० प्रतिशत काम पूरा भएको प्राधिकरणको दाबी छ ।
त्यसैगरी, भूकम्पले सात हजारओटा विद्यालयमा क्षति पुगे पनि ३ हजार ७०० ओटा विद्यालयमात्र पुनःनिर्माण भएका छन् ।
केही विद्यालयको पुनःनिर्माण भइरहेको छ भने अझै १ हजार ३०० विद्यालय पुनःनिर्माणको काम सुरु नै भएको छैन ।
आगामी आर्थिक वर्षभित्र ८० प्रतिशत विद्यालय पुनःनिर्माणको काम सकिने प्राधिकरणको दाबी छ ।
त्यसैगरी, स्वास्थ्य संस्थातर्फ एक हजार १९७ अस्पताल भत्किएकामा ४०९ ओटा ‘रेट्रो फिटिङ’ गरिएको छ । अन्य स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणका कार्यकारी निर्देशक भुसालले बताए ।
पुनःनिर्माणको काममा सहयोग गर्दै आएका दातृनिकायले पनि चाँडो काम सक्न सुझाव दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्