३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सांसदहरुद्वारा सरकारको काम कारवाही प्रभावकारी नभएकोमा आलोचना


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारको काम कारवाही प्रभावकारी बन्न नसकेको भन्दै आलोचना गरेका छन् ।

आजको बैठकमा बोल्दै सत्तापक्ष र विपक्षी सांसदहरुले सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

सत्तारुढ नेकपाका सांसद भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भारतीय कम्पनी जिएमआरलाई फेरि पनि सरकारले म्याद थप्न लागेको भन्दै चर्को विरोध गरे ।

पटक पटक शर्तनामा उल्लंघन गरेको कम्पनीलाई म्याद थप्नु लम्पसारवाद भएको भन्दै उनले यसले मुलुकको अस्थित्व नै संकटमा पार्ने त होइन भन्दै सरकारसँग जवाफ माग गरे ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सरकार आपराधिक गिरोहको संरक्षक बनेको आरोप लगाउदै वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउन माग गरिन् ।

विपक्षी दलका अन्य सांसदहरुले भुकम्पपछिको पुनर्निर्माण लागि संचार महशुल वापत उठेको दुई अर्ब ५० करोड रुपैयाँ कहाँ छ भनेर प्रश्न गरेका छन् ।

सरकार जनताको घरदैलोमा भन्दा पनि बिजुलीको पोलमा मात्र भेटिएको उनीहरुको टिप्पणी थियो ।

बैठकमा सांसदहरुले उखु किसानले राम्रो मुल्य नपाएको, विकास निमार्णको काम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।