Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


भक्तपुरमा उम्मेदवारी नदिइ बिजुक्छेका लागि छाड्ने भएपछि एमालेमा असन्तुष्टि


0
Shares

यसअघिका प्रत्येक निर्वाचनमा एमालेले उम्मेदवारी दिँदै आएको र स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेको क्षेत्रमासमेत उम्मेदवारी नदिने एमालेले निर्णय गरेको भन्दै एमालेभित्र असन्तुष्टि बढेको हो ।

वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभातर्फ नेमकिपाका अध्यक्ष बिजुक्छेको उच्च मूल्यांकन गर्दै उनकाविरुद्ध उम्मेदवार नउठाउने निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याएर उम्मेदवार बनाउन एमाले भक्तपुरले माग गरेको छ ।

यस क्षेत्रमा एमाले जिल्ला कमिटीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिस गरेको र एमालेको मजबुद रहेको क्षेत्रमा नेमकिपालाई छाड्ने निर्णय अमान्य भएकाले उम्मेदवारी दिन माग गरेको एमाले नेता दामोदर दंगालले बताए ।

एमाले निर्वाचन क्षेत्रीय कमिटीका संयोजक मोहनवीर श्रेष्ठ र सचिव शम्भु दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भक्तपुरको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ बिजुक्छेलाई छाड्ने निर्णय सच्याउन माग गर्दै उम्मेदवारी दिन माग गरेको छ ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले भक्तपुर क्षेत्र नम्बर–१ मा बिजुक्छेलाई छाड्ने र एमालेले उम्मेदवारी नदिने भन्ने निर्णय आफूलाई जानकारी नभएको बताए ।

उनले भने–‘भक्तपुर क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारका लागि नाम सिफारिस गरेर जिल्लाले पठाएको छ, केन्द्रीय तहमा के निर्णय भयो, मलाई थाहा छैन र पार्टी जिल्ला कमिटीलाई जानकारी पनि आएको छैन ।’

एमालेले निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश नम्बर–२ (ख) मा पनि आफ्नो उम्मेदवार नउठाउने भएको छ ।

एमाले स्रोतकाअनुसार स्थानीय तह निर्वाचनमा एमालेले नगरप्रमुख विजयी भएको मध्यपुरथिमि नगरपालिका रहेको उक्त क्षेत्रमा आफ्नो उम्मेदवार नउठाउने भएसँगै एमाले थिमिका नेता–कार्यकर्ता असन्तुष्ट भएका छन् ।

यस प्रदेशमा वाम गठबन्धनअनुरुप एमालेले माओवादी केन्द्रका लागि छाडेपछि एमाले नेता–कार्यकर्ता असन्तुष्ट जाहेर गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा गएको बताएका छन् ।

यस प्रदेशमा एमालेले पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मत् सिफारिस गरेको थियो ।

एमालेले निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश नम्बर–१ (क) मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत् हरिशरण लामिछाने, निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश क्षेत्र नम्बर–२ (ख) मा भने प्रत्यक्षतर्फ रोमन शिलाकारको नाम सिफारिस गरेको थियो ।

निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वउद्योगमन्त्री महेश बस्नेतको नाम सर्वसम्मत् सिफारिस गरिएको थियो भने निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश नम्बर–१ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाम सिफारिस गरिएको थियो । रासस