Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


प्रदेशसभा चुनावमा मामा र भान्जाको रोचक भिडन्त


0
Shares

प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा एमालेका नेता उत्तमकुमार बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेशसभा (क) का साझा उम्मेदवार छन् । उनी नाताले मामा हुन् भने नेपाली कांग्रेसबाट सोही पदमा प्रकाशसिंह कार्की (भान्जा) उम्मेदवार बनेका छन् ।

वाम शक्ति र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने यस क्षेत्रमा मामा–भान्जाको उम्मेदवारीले चर्चा पाउन थालेको छ ।

‘रगतको नाता भएपनि राजनीतिमा फरक–फरक ध्रुवमा अगाडि बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार छौं’–नेपाली कांग्रेसका उम्मेदवार भान्जा प्रकाशसिंह कार्कीले भने ।

उनले भने–‘मैदानमा उत्रिएका छौं, जे हुन्छ, नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ ।’

यस्तै, वाम गठबन्धनका तर्फका उम्मेदवार मामा उत्तमकुमार बस्नेतले भने–‘मामा–भान्जाको नाता घरभित्रको नाता हो, तर समाजसेवामा त्यो नातावाद लागू हुँदैन, हामी चुनावी मैदानमा छौं, यसको निर्णायक जनता हुन् ।’

स्थानीय तहको मतपरिणामलाई हेर्दा
सोलुका चार गाउँपालिकामध्ये महाकुलुङ र दूधकौशिका प्रमुखमा माओवादी केन्द्रले जितेको छ भने सोताङ र नेचा सल्यान गाउँपालिका प्रमुखमा एमालेले जितेको छ ।

स्थानीय तहको मतपरिणामलाई आधार मान्दा प्रदेश सभा (क) मा कांग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीभन्दा गठबन्धनका उम्मेदवार एमालेका उत्तमकुमार बस्नेत चार हजार ८२७ मतले अगाडि छन् ।

प्रदेश सभा (क) मा महाकुलुङ, सोताङ, दूधकौशिका र नेचा सल्यान गाउँपालिका रहेको छ । जहाँ स्थानीय तहमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत ११ हजार ३३ रहेको छ भने कांग्रेसको मत ६ हजार २०६ रहेको छ । यहाँ कांग्रेस चार हजार ८२७ मतले पछि देखिन्छ ।

Skip This