९ असार २०८२, सोमबार | Mon Jun 23 2025


तनहुँ–१ मा रामचन्द्र पौडेलको ‘बागी’ बने गोविन्दराज जोशी, कहाँ–कसको उम्मेदवारी ?


0
Shares

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको हो ।

बिहीबार बिहान १० बजेदेखि नै उम्मेदवारी दर्ता भइरहेको छ । योक्रम अपराह्न ५ बजेसम्म चल्नेछ ।

यसक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वारेसनामामार्फत् डडेलधुरामा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारी गणेशराज पन्तले वारेसनामामार्फत् दर्ता गराएका हुन् ।

यता, काठमाडौंको राष्ट्रियसभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् ।

काठमाडौं–१ बाट कांग्रेस नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं–४ बाट कांग्रेस युवा नेता गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं क्षेत्र नम्बर–२ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले राष्ट्रियसभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी, प्रतिनिधिसभाका लागि एमालेका तर्फबाट काठमाडौं–५ मा महासचिव ईश्वर पोखरेल र काठमाडौं–७ मा रामवीर मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, काठमाडौं क्षेत्र नम्बर–८ को प्रतिनिधिसभाका लागि कांग्रेसका तर्फबाट नवीन्द्रराज जोशी र एमालेका तर्फबाट जीवनराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं क्षेत्र नम्बर–१ को प्रतिनिधिसभाका लागि विवेकशील साझा पार्टीका तर्फबाट संयोजक रवीन्द्र मिश्र, काठमाडौं–२ का लागि सोही पार्टीबाट डा. सूर्यराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

सोही पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर–७ मा अनुपा श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै, ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा कांग्रेसका उदयशमशेर राणा, ललितपुर–२ मा चन्द्र महर्जन र ललितपुर–३ मा मदन अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उता, चितवनको ३ नम्बर क्षेत्रको प्रतिनिधिसभातर्फ मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनकै क्षेत्र नम्बर–१ मा एमालेका सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, इलाम क्षेत्र नम्बर–१ बाट एमाले वरिष्ठ नेता झलनाथ खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नम्बर–१ मा उम्मेदवारी दर्ता गराएका छन् ।

झापा क्षेत्र नम्बर–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर–१ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रबाट कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले ‘बागी’ उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहितका दलका उम्मेदवारहरु पनि उम्मेदवारी दर्ताका लागि धमाधम निर्वाचन कार्यालय पुगिरहेका छन् ।

काठमाडौंमा चार ठाउँबाट उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिसभाका कुल १६५ मध्ये ३७ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ ।

ती क्षेत्रका लागि गत कात्तिक ५ गते नै उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडि क्षेत्रमा निर्वाचन हुनेछ ।