
ठूला दलका उम्मेदवारहरु जुलुस र नाराबाजीसहित उम्मेदवारी मनोनयन दर्ता गराउन पुगेका थिए ।
भरतपुरको रिजालचोकबाट सुरु भएको वाम गठबन्धनको र्याली चौबिसकोठी हुँदै मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेको थियो ।
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन निर्वाचन क्षेत्र नम्बर–१ बाट एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र नम्बर–२ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र चितवन क्षेत्र नम्बर–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
दाहालको प्रस्तावकमा अमिक शेरचन र समर्थकमा रामजी सापकोटा रहेका छन् ।
यस्तै, नेता पाण्डेको प्रस्तावकमा लालमणि चौधरी र समर्थकमा प्रभा बराल रहेका छन् ।
यस्तै, पोखरेलको प्रस्तावकमा देवीप्रसाद ज्ञवाली र समर्थकमा कृष्णराज न्यौपाने रहेका छन् ।
वाम गठबन्धनबाटै प्रदेशसभातर्फ चितवन क्षेत्र नम्बर–१ ‘क’मा दावा दोर्जे लामा, ‘ख’मा कृष्ण खनाल, क्षेत्र नम्बर–२ ‘क’मा घनश्याम दाहाल ‘ख’मा विजय सुवेदी, क्षेत्र नम्बर–३ ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा रामलाल महतोको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्तापछि बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले वाम गठबन्धनले बहुमत ल्याएर ढुक्कका साथ पाँच वर्ष नेतृत्व गर्ने जिकिर गरे ।
उनले आफू ११ वर्षपछि गृहजिल्ला चितवनबाट चुनाव लड्न लागेको भन्दै जनताको मायाले उत्साह जागेको बताए ।
यता, नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि तामझामका साथ मनोनयन दर्ता गराएको छ ।
केन्द्रीय बस टर्मिनल भरतपुरबाट निस्किएको र्यालीमा कांग्रेस र राप्रपा प्रजातान्त्रिकका नेता–कार्यकर्ताहरु र समर्थकहरु नाराबाजी गर्दै मनोनयन दर्ता गराउन पुगेका थिए ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर–१ बाट राजेन्द्र बुर्लाकोटी, क्षेत्र नम्बर–२ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र क्षेत्र नम्बर–३ बाट वन तथा भू–संरक्षणमन्त्री एवं राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
नेता पाण्डेको प्रस्तावकमा शंकरप्रसाद कँडेल र समर्थकमा सुरजकुमार न्यौपाने रहेका छन् ।
यस्तै, नेता अधिकारीको प्रस्तावकमा भूपतिदास सापकोटा र समर्थकमा नारायण चालिसे रहेका छन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसित नेता विक्रम पाण्डेले आफू २० वर्षदेखि चितवनका जनतासँग हातेमालो गर्दै अघि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताए ।
उनले क्षेत्र नम्बर–३ को विकास निर्माणमा आफ्नो योगदान रहेको भन्दै आफ्नो जितसँगै यहाँको विकास निर्माणले तदारुकता पाउने बताए ।
यसैगरी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक नेपाल, संघीय समाजवादी पार्टीलगायत स्वतन्त्ररुपमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्