९ असार २०८२, सोमबार | Mon Jun 23 2025


लालबाबु पण्डित र शेखर कोइरालाको चुनावी भिडन्त, यसो भन्छन् लालबाबु (भिडियो)


0
Shares

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उत्साहपूर्णरुपले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको हो ।

मुलुककै सबैभन्दा बढी मतदाता रहेको मोरङमा ६ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि मोरङमा शान्तिपूर्णरुपले मनोनयन दर्ता भएको छ ।

मोरङमा वाम गठबन्धले साझा उम्मेदवार चुनावी मैदानमा उतारेको छ भने नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका मोरङ क्षेत्र नम्बर–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले नेता एवं पूर्वसमान्य प्रशासनमन्त्रीसमेत रहेका लालबाबु पण्डितले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउन र समृद्ध विराटनगर निर्माणका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पूर्वसन्चारमन्त्री डा. मीनेन्द्र रिजालले वाम गठबन्धनको सर्वसत्तावाद रोक्न जनताको मत र आर्शिवाद लिन आफू उम्मेदवार बनेको बताए ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका राजनीतिक दलबाहेक स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गराएका छन् ।

मोरङमा प्रतिनिधिसभाका ६ ओटा र प्रदेशसभाका लागि १२ ओटा निर्वाचन क्षेत्र छन् ।

मोरङमा प्रतिनिधिसभातर्फ १ नम्बर क्षेत्रमा वाम गठबन्धनबाट घनश्याम खतिवडा, नेपाली कांग्रेसका तर्फबाट डिकबहादुर लिम्बू, २ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट पूर्वसांसद ऋषिकेश पोखरेल र नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल, क्षेत्र नम्बर–३ बाट वाम गठबन्धनका तर्फबाट भानुभक्त ढकाल, नेपाली कांग्रेसका तर्फबाट सुनिल शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभातर्फ मोरङ ४ नम्बर निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट अमललाल मोदी र नेपाली कांग्रेसका तर्फबाट पूर्वअर्थमन्त्री महेश आर्चायले उम्मेदवारी दिएका छन् ।

यस्तै, क्षेत्र नम्बर–५ मा वाम गठबन्धनका तर्फबाट बहालवाला मन्त्री शिवकुमार मण्डल, नेपाली कांग्रेसका सांसद अमृत अर्याल, संघीय समाजवादी फोरम नेपालका तर्फबाट जयराम यादव र ६ नम्बर क्षेत्रमा वाम गठबन्धनबाट पूर्वमन्त्री लालबाबु पण्डित र नेपाली कांग्रेसका तर्फबाट सांसद डा. शेखर कोइरालाले उम्मेदवारी दिएका छन् ।

दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि उम्मेदवारी मनोनयन दर्ता भएसँगै सिंगो मोरङ जिल्लामा चुनावी माहोल अझ उत्कर्षमा पुगेको छ ।

मोरङ जिल्ला मुलुककै सबैभन्दा बढी मतदाता भएको जिल्ला पनि हो ।

भिडियो हेर्नुहोस्