उम्मेदवारी दिएकाहरुले आर्थिक विकास नै प्रमुख एजेन्डा भएको बताएका छन् ।
तीनओटै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउन पुगेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु निकै तामझामका साथ निर्वाचन कार्यालय पुगेका थिए ।
यो तीनै क्षेत्रमा मूलतः वाम र लोकतान्त्रिक गठबन्धनकैबीचमा प्रतिस्पर्धा हुने भएको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा कांग्रेसका डा. प्रकाशशरण महत, ७ मा राप्रपाका विक्रमबहादुर थापा र ८ मा नवीन्द्रराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशतर्फ ५ को ‘क’मा रमा गुरागाइँ र ‘ख’मा रमेश खड्का, ७ को ‘क’मा विजय माली र ‘ख’मा धर्मराज अर्याल, ८ को ‘क’मा देवरत्न डंगोल र ‘ख’मा राज्यलक्ष्मी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर र ८ मा जीवनराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशतर्फ भने ५ को ‘क’मा नारायण सिलवाल र ‘ख’मा दीपक निरौला, ७ को ‘क’मा वसन्त मानन्धर र ‘ख’मा प्रकाश श्रेष्ठ तथा ८ को ‘क’मा अष्टलक्ष्मी शाक्य र ‘ख’मा राजेश शाक्यले मनोनयन दर्ता गराएका हुन् ।
यसैगरी, विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–५ मा उज्वल थापा, ७ मा अनुपा श्रेष्ठ र ८ पुकार बमले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर–५ मा उम्मेदवार बनेका एमाले महासचिव पोखरेल र कांग्रेस नेता महत दुवै पूर्वमन्त्री हुन् भने महत पहिलोपटक प्रत्यक्षतर्फ चुनावमा प्रतिस्पर्धा गर्दै छन् । पोखरेलले भने यही क्षेत्रमा पहिले पनि प्रतिस्पर्धा गरिसकेका छन् ।
क्षेत्र नम्बर–७ बाट उम्मेदवार बनेका एमाले उम्मेदवार मानन्धर यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए भने राप्रपाका थापा अहिलेसम्म निर्वाचित भएका छैनन् ।
विवेकशील साझाका उम्मेदवार सन्चारकर्मी श्रेष्ठ भने पहिलोपटक निर्वाचनको मैदानमा उत्रिएकी हुन् ।
क्षेत्र नम्बर–८ बाट उम्मेदवार रहेका कांग्रेस नेता जोशी ०६४ सालदेखि यसै क्षेत्रबाट निर्वाचित भइ मन्त्रीसमेत बनिसकेका छन् । एमालेका श्रेष्ठ भने जोशीसँगै पराजित भएका थिए ।
आफ्नो मनोनयन दर्ता गराएपछि उम्मेदवारहरुले विकास निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।
उम्मेदवारहरुले आ–आफ्नो जितको आधार दाबी गरिहँदा यी तीन क्षेत्रमा कसले बाजी मार्ला भन्नेचाहिँ मंसिर २१ गतेको मतदानपछि नै तय हुनेछ ।




प्रतिक्रिया दिनुहोस्