महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघको निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद् हत्यारा पत्ता लगाइ सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाइप्रति खेदसमेत व्यक्त गरेको छ ।
गौचनको हत्यापछि पनि अन्य निर्माण व्यवसायीलाई लगातार धम्की आउनेक्रम अझै जारी रहेको भन्दै महासंघले सुरक्षाको पूर्णप्रत्याभूति दिन सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीहरुले निर्धक्क भएर व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताए ।
गौचनको हत्यारा पत्ता नलागे महासंघले आन्दोलनको सशक्त कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिए ।
महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले महासंघको मागबमोजिम गौचनलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरेकोमा सरकारप्रति आभार व्यक्त गरे ।
आन्दोलनकैक्रममा देशभरका निर्माणकार्यमा कुनैपनि व्यवसायी सहभागी नभइ बोलपत्र बहिस्कार गरिरहेको अवस्थामा सिंगो मुलुक निर्वाचनमा होमिएको सन्दर्भमा आगामी मंसिर ३० गतेसम्मका लागि भने यो निर्णय फिर्ता लिइएको हिराचनले स्पष्ट पारे ।
उक्त समयसम्म पनि गौचनको हत्यारा पत्ता नलागेमा मुलुक नै ठप्प हुने गरी कडाभन्दा कडा आन्दोलनमा जान महासंघ बाध्य हुने उनले उल्लेख गरे ।
महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले गौचनको हत्यारालाई राजनीतिक संरक्षण दिइएको आशंका उब्जिएको सन्दर्भमा सरकारले सबै सत्यतथ्य यथाशक्य छिटो सार्वजनिक गर्नुपर्ने माग गरे ।









प्रतिक्रिया दिनुहोस्