प्रतिनिधिसभा सदस्य ४ र प्रदेशसभा सदस्य ८ गरी १२ जना सदस्यका लागि सप्तरीमा जम्मा १ सय ६८ जनाको मनोनयन दर्ता भएको छ ।
चारवटा प्रतिनिधि सभाका क्षेत्र रहेको सप्तरीमा विभिन्न पार्टी र स्वतन्त्रसमेतबाट गरी ५९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी आठ जना प्रदेश सभा सदस्य निर्वाचित हुने सप्तरीमा १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि नेपाली कांग्रेसका रामदेव साहले मनोनयन दर्ता गराएका छन् भने वाम गठवन्धनका तर्फवाट पूर्व सांसद अशोककुमार मण्डल, संघीय समाजवादी फोरम नेपाल-राजपा गठबन्धनबाट वाल रोग विशेषज्ञ डा.सूर्यनारायण यादव लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, मंगोल नेसशन ओर्गनाईजेशनका फजिल मंसुरी, विवेकशील साझा पार्टीका मोती मियाँ, एकीकृत राप्रपा (राष्ट्रवादी) का विष्णुदेव यादव, नयाँ शक्ति पार्टीका कृष्णकुमार गुप्ताले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनवाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, वाम गठवन्धनबाट माओवादी (केन्द्र) का पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री उमेश यादव, नेपाली कांग्रेसका पूर्व सांसद सकलदेव सुतिहारले मनोनयन दर्ता गराएका छन् ।
सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल सद्भावना पार्टीका अध्यक्ष विकास तिवारीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सहमहामन्त्री जयप्रकाश ठाकुरले पार्टी परित्या गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव, वाम गठवन्धनका तर्फबाट एमालेका पूर्व सांसद ताराकान्त चौधरी, संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनबाट चन्द्रकान्त चौधरीको मनोनयन दर्ता भएको छ ।
यसैगरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी, वाम गठवन्धनका मो. ईस्लाम, संघीय समाजवादी फोरम नेपाल-राजपा गठवन्धनबाट राजपाका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादवको मनोनयन दर्ता भएको छ ।
सोही क्षेत्रबाट नेकपा माक्र्सवादीबाट मकुन चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । वहालवाला मन्त्री, पूर्वमन्त्रीदेखि पार्टी अध्यक्षसम्म प्रतिस्पर्धामा उत्रिएको सप्तरीको चुनावले मतदातालाई पनि निकै उत्साहित बनाएको छ ।
कुल ४ सय ७८ मतदान केन्द्र रहेको सप्तरीमा ३ लाख ४६ हजार २ सय ८६ मतदाता छन् ।





प्रतिक्रिया दिनुहोस्