
काठमाडौं, असार १६ । सभामुख कृष्णबहादुर महराले राज्यप्रणाली अझैपनि जनतातर्फ फर्की नसकेको टिप्पणी गरेका छन् ।
सभामुख महराले मुलुकमा लोकतन्त्र संस्थागत हुने चरणमा रहे पनि राज्यप्रणाली जनताले अझै अपनत्व गर्न बाँकी रहेको टिप्पणी गरेका हुन् ।
६०औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले विगतमा पटक–पटक मुलुकमा प्रजातन्त्र गुमेको इतिहास रहेकाले अबपनि लोकतन्त्र नगुमोस् भन्नेतिर सचेत रहनुपर्ने धारणा राखे ।
सभामुख महराले नयाँ संविधानअनुसार थुप्रै कानुन बनाउन बाँकी रहेकाले कानुन निर्माणमा पूर्वसांसदहरुको अनुभव अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय स्वाधिनतासहितको प्रजातन्त्रको विकास हुन नसके प्रजातन्त्रमाथि जहिले पनि खतरा रहने बताए ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताअनुसार संसदीय व्यवस्था उपयुक्त रहेको विश्वास आमजनतामा रहेको धारणा राखे ।
नेपालमा वि.सं. २०१६ साल असार १६ गते पहिलोपटक बसेको संसद बैठकको सम्झनामा संसद दिवस मनाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्