Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पुलिसलाई झड्का, सशस्त्रसित ४–१ ले पराजित, च्यासलबाट सरस्वतीले खोस्यो ३ अंक


0
Shares

काठमाडौं, पुस १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १२औं चरणका खेलमा सशस्त्र प्रहरीको एपीएफ र सरस्वती युथ क्लब विजयी भएका छन् ।

मंगलबार सशस्त्रको मुख्यालयमा भएको खेलमा सशस्त्रले नेपाल पुलिस क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

सशस्त्रलाई जिताउन युवराज खड्काले दुई तथा राजेन्द्र रावल र हरि कार्कीले एक/एक गोल गरे । पुलिसका लागि अजित भण्डारीले एक सान्त्वना गोल फर्काए ।

यो जितले सशस्त्र २० अंकसहित लिग तालिकाको पाँचौं स्थानमा पुगेको छ भने हारले पुलिस १८ अंकसहित छैटौं स्थानमा झरेको छ ।

सरस्वतीले च्यासललाई हरायो

मंगलबार नै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वतीले च्यासल युथ क्लबलाई २–१ ले हरायो ।

खेल बराबरीमा रहेको अवस्थामा इन्जुरी समयको अन्तिम मिनेटमा सरस्वतीका फ्रान्सिस ओकेचुकुले गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि, खेलको १४औं मिनेटमै च्यासलका सजिन थापामगरले गोल गर्र्दै च्यासललाई अग्रता दिलाएका थिए ।

८६औं मिनेटमा सरस्वतीका मनिष थापाले फ्रिकिकबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यो सफलतासँगै सरस्वती १३ अंकसहित नवौं स्थानमा पुगेको छ । च्यासल भने १५ अंकसहित आठौं स्थानमा छ ।

बुधबार दुई खेल

१२औं चरणका बाँकी दुई खेलहरु बुधबार हुनेछन् । दिउँसो साढे २ बजे ३३ अंकसहित उपाधि जितिसकेको मनाङ–मर्स्याङ्दी क्लबले १७ अंकसहित सातौं स्थानमा रहेको हिमालयन शेर्पा क्लबसित तथा २५ अंकसहित दोस्रो स्थानमा रहेको संकटा क्लबले २३ अंकबाट तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबसित खेल्दैछ ।

यो खेल जिते संकटाले दोस्रो स्थानमा रहेर लिग सकाउने पक्का हुनेछ भने संकटाको हारले थ्रीस्टार दोस्रो बन्ने सम्भावना बलियो हुनेछ ।