८ असार २०८२, आइतबार | Sun Jun 22 2025


‘जनताले निर्वाचित गराउनेमा विश्वस्त छु’


0
Shares

आफ्नो पक्षमा मत बटुल्न पार्टीका नेता अहिले घर–घरमा भोट माग्न पुग्ने गरेको दृश्य देख्न पाइन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन जनता आतुर देखिन्छन् । उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न कसरत गरिरहेका छन् । नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले जनता उत्साहित भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्य २०७० सालको दोस्रो सविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर–३ बाट विजयी भएका थिए । उनी अहिलेपनि सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको जित आवश्यक भएको उनको धारणा छ ।

वि.सं. २०७० मा पाएको मत कायम राख्नसके पनि आफू विजयी हुने अमात्य बताउँछन् । वाम गठबन्धनले कुनै असर पार्न नसक्ने उनको भनाइ छ ।

सो क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल प्रतिनिधिसभाको उम्मेदवार बनेकी छन् । उनी सोही क्षेत्रबाट २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा विजयी भएकी थिइन् ।

आफ्नो जित सुनिश्चित गराउन उनी घरदैलो अभियानमा जुटेकी छन् । ‘यसपटक पनि मलाई निर्वाचित गराएर पठाउनेमा म ढुक्क छु’–भुसालले भनिन् ।

क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ कांग्रेसका चन्द्र महर्जन उम्मेदवार बनेका छन् । यस क्षेत्रबाट दोस्रो संविधानसभाको निर्वाचनमा महर्जन विजयी भएका थिए ।

यसपटक पनि सजिलै चुनाव जित्नमा उनी ढुक्क रहेको बताउँछन् । ‘जनताले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनेमा विश्वस्त छु’–महर्जनले भने ।

सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट कृष्णलाल महर्जनको उम्मेदवारी रहेको छ । यस क्षेत्रबाट वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार राजकाजी महर्जन विजयी भएका थिए ।

निर्वाचनमा वाम गठबन्धनको जित निश्चित भएको महर्जनको दाबी छ ।

क्षेत्र नम्बर–१ मा कांग्रेसबाट उदयशमशेर राणा उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट वाम गठबन्धनका नवराज सिलवाल उम्मेदवार रहेका छन् ।

यहाँका जनताले आफुलाई निर्वाचित गराउनेमा विश्वस्त रहेको सिलवालको भनाइ छ ।

यस क्षेत्रबाट वि.सं. २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका वर्षमान पुन विजयी भएका थिए । रासस