
वाम गठबन्धन र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु अहिले सहर छोडेर गाउँबस्ती केन्द्रित भई मतदाता भेटघाट र चुनावी कार्यक्रममा व्यस्त छन् ।
नेपाली राजनीतिका मुख्य हस्ती एवं नेकपा एमालेका केन्द्रिय उपाध्यक्षसमेत रहेका भीम रावल अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा लड्दा जिल्लाको चुनावी चहलपहलले थप चर्चा पाएको छ ।
नेपाली राजनीतिको केन्द्र भागमा व्यस्त रहने रावलले कात्तिक १६ गते निर्वाचन आयोग अछाममा आफ्नो उम्मेदवारी दर्ता गराएपछि नै दैनिकजसो मतदाता भेटघाट थालेका हुन् । रावल अहिले वाम गठकन्धनले आयोजना गरेका कार्यक्रमका साथै स्थानीय बुद्धिजीवी, शिक्षक, कर्मचारीसँगको छलफल तथा भेटघाटमा व्यस्त रहेका नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरले बताए ।
अछाम जिल्लाबाट ४ पटक प्रत्यक्ष चुनाव लडेका रावल २ पटक विजयी भएका थिए भने २ पटक पराजित भएका थिए । उनी २०६४ सालको संविधान सभामा समानुपातिक सूचिमा रहि अछामबाट ३ पटक जनप्रतिनिधि बनिसकेका छन् ।
२०५१ सालमा राज्यमन्त्रीको जिम्मेवारी समालेका रावलले विभिन्न समय गरी ३ पटक मन्त्री, एकपटक उप प्रधानमन्त्रीमा रहि सरकार सञ्चालनको लामो अनुभव बटुलिसकेका छन् ।
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष, बौद्धिक नेताको रुपमा स्थापित रावलको निर्वाचन क्षेत्रलाई देशैभरबाट निकै महत्वका साथ हेरिएको छ ।
रावल बेरोजगारी समस्याको समाधानका साथै स्वास्थ्य, शिक्षा, सडक, संचार र कृषि लगायतका क्षेत्रको स्तरोन्नति, लगाएतका एजेण्डासहित चुनावी प्रचारमा तिब्रताका साथ लागीरहेका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवार रावलसँग नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व जिल्ला विकास समिति अछामका सभापति समेत रहेका भरतकुमार स्वाँर चुनावी मैदानमा छन् ।
सबै क्षेत्रबाट निकै महत्वका साथ हेरिएको अछाम जिल्ला क्षेत्र नम्बर १ मा वाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने देखिन्छ ।
यस्तै अछाम क्षेत्र नं २ मा नेकपा एमालेका जिल्ला सचिव यज्ञबहादुर बोगटी र नेपाली कांग्रसका पूर्वजिल्ला सभापति पुष्पबहादुर शाह चुनाबी मैदानमा उत्रिएका छन् । एमाले सचिव बोगटी नेकपा माओवादी केन्द्र र नेकपा एमालेका साझा उम्मेदवार हुन् भने नेपाली कांग्रेसका शाह राप्रपाको साथ लिएर उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्