७ असार २०८२, शनिबार | Sat Jun 21 2025


भक्तपुर–२ मा रोमान्चक भिडन्त (भिडियो)


0
Shares

मत माग्न अझै घरदैलो अभियान सुरु नगरिसकेका भक्तपुरका उम्मेदवारले आफ्नो जित सुनिश्चित गर्ने रणनीति बनाइरहेका छन् ।

भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारहरु आफ्नो उपस्थिति बलियो देखाउने रणनीतिसहित चुनावी अभियानलाई तीव्रता दिने कसरतमा लागेका छन् ।

उम्मेदवारहरुले विकास निर्माणका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर प्रचारमा जुट्ने प्रयासमा लागेका हुन् ।

मतदाताहरु भने २०३६ सालदेखि परिवर्तनका लागि मतदान गर्दै आएपनि राजनीतिक व्यवस्थामात्र परिवर्तन भएको तर आफूहरुको दिनचर्या उस्तै रहेको गुनासो गर्दछन् ।

आगामी निर्वाचनमा भक्तपुरमा तीनओटा दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन तथा नेपाल मजदुर किसान पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार क्षेत्र रहेको भक्तपुरमा कुल ६७ जनाको उम्मेदवारी परेको छ । यहाँका १ लाख ७८ हजार ९९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ मा तीन स्वतन्त्रसहित ९ दलका ३३ र क्षेत्र नम्बर–२ मा तीन स्वतन्त्रसहित १० दलका ३४ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ नेमकिपाका पार्टी सचिव प्रेम सुवाल, नेपाली कांग्रेसका बाबुराजा जोशी र वाम गठबन्धनका मिलन सुवाल प्रतिस्पर्धामा छन् ।

२०४८ सालदेखि भएको हरेक चुनावमा यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी विजयी हुँदै आएको छ ।

भक्तपुरको सबैभन्दा रोमान्चक प्रतिस्पर्धा हुने २ नम्बर क्षेत्र हो । यो क्षेत्रबाट नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई अघि सारेको छ ।

त्यसैगरी, वाम गठबन्धनले पूर्वमन्त्री महेश बस्नेतलाई अघि बढाउँदा नेपाल मजदुर किसान पार्टीले अनुराधा थापामगरलाई प्रतिस्पर्धी बनाएको छ ।

२०४८, ०५६ र ०७० सालको चुनावमा यो क्षेत्रमा कांग्रेस विजयी भएको थियो भने, २०५१ र ०६४ सालमा भएको चुनावमा नेमकिपा विजयी भएको थियो । तर, यसपटक तीनजना उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

गत स्थानीय तह निर्वाचनको मत हेर्दा यो क्षेत्रमा वामपन्थी गठबन्धनको मत बढी देखिएपनि पूर्वसभामुख ढुंगानालाई कांग्रेसले प्रतिस्पर्धी बनाएको र स्थानीयस्तरमा राम्रो सम्बन्ध भएकी अनुराधा थापामगर नेमकिपाबाट प्रतिस्पर्धामा उत्रिएकाले निर्वाचन निकै रोचक हुने विश्लेषकहरु बताउँछन् ।

प्रदेशसभाअन्तर्गत् क्षेत्र नम्बर–१ ‘क’मा नेकपा एमालेका जिल्ला सचिव हरिशरण लामिछाने, नेपाली कांग्रेसका जीवन खत्री र नेमकिपाका निरज लवजुबीच प्रतिस्पर्धा हुनेछ ।

क्षेत्र न–१ ‘ख’मा नेमकिपाका सुरेन्द्रराज गोसाइँ, कांग्रेसका अनिल भुजू र वाम गठबन्धनबाट रोमन शिलाकारबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी, क्षेत्र नम्बर–२ ‘क’मा एमालेका शशीजंग थापा, कांग्रेसका अंगद खड्का र नेमकिपाकाका सरोजराज गोसाइँ चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर–२ ‘ख’मा कांगेसका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र एमालेका राजेन्द्रमान श्रेष्ठबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस क्षेत्रमा नेमकिपाले प्रेमजंग थापालाई उम्मेदवार बनाएको छ ।

भिडियो हेर्नुहोस्