
नेपालमा पछिल्लो समय महिलामा मधुमेह अर्थात सुगरको समस्या बढ्दै गएको भन्दै उनीहरुलाई बढी जनचेतना फैलाउन यस बर्ष मधुमेह र महिला भन्ने नारा लिईएको हो ।
खानपानमा विशेष हेरविचार नपुर्याउँदा महिलामा मुधुमेह रोग बढ्दै गएको तथ्याङ्कले देखाएको हो । ४१ प्रतिशत पुरुषलाई मधुमेह देखिंदा महिलामा यो ५८ प्रतिशत छ ।
शहरी क्षेत्रमा ८ दशमलव १ प्रतिशत र ग्रामीण क्षेत्रमा १ दशमलव १ प्रतिशत मानिस मधुमेह रोगबाट पीडित छन् ।
जीवनशैली र खानपानमा विशेष ध्यान नदिंदा हाल गर्भवती महिलामा मधुमेह रोग बढी देखिन थालेको मधुमेह रोग विशेषज्ञ डा.ज्योती भट्टराई बताउँछिन् ।
खानामा ग्लुकोजको मात्रा बढी हुनाले मधुमेह रोग लाग्छ ।
हामीले खाएको खानेकुराबाट उत्पादन भएको चिनीलाई शरीरका कोशीका तथा अंगहरुमा पुर्याउने काम इन्सुलिनले गर्छ र हाम्रो शरीरमा त्यहि इन्सुलिन नामक हार्मोन कमी हुँदै चिनीको मात्रा बढ्छ र मुधुमेह रोग लाग्छ ।
हाल विश्वमा ३५ करोड मानिस मधुमेह रोगबाट पीडित छन् भने सन् २०२५ सम्ममा यो संख्या ४० करोडसम्म पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ ।
नेपालमा भने १० लाख मानिसमा मधुमेह रोग रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रोटिन, कार्बोहाइड्रेट, चिल्लोपदार्थ र रेशायुक्त खानपान गर्नु स्वास्थ्यका लागि राम्रो हुने पोषणविद् डा. जया प्रधान बताउँछिन् ।
मधुमेह भएका विरामीलाई चिनी निकै घातक हुने र स्वस्थ मानिसले समेत चिनीको मात्रा कम खान चिकित्सकले सल्लाह दिएका छन् ।
दुब्लाउदै जानु, बढी भोक र तिर्खा लाग्नु, रिंगटा लाग्नु, छाला सुक्खा हुन, छिनछिनमा पिसाब लाग्नु, झर्को लाग्नु मधुमेह रोगमा लक्षण हुन् ।
मधुमेह रोगलाई हेलचक्रयाई गर्दा आँखामासमेत असर पर्ने, मिर्गौला खराव हुने, पक्षघात हुने जस्ता समस्या देखा पर्ने चिकित्सकले बताएका छन् ।
मधुमेह रोग जीवनभर पूरै सन्चो हुदैन, तर मधुमेह रोगको रोकथाम भने गर्न सकिन्छ ।
विरामीले सन्तुलित भोजन गर्ने, शरीरमा चिनीको मात्रालाई कम गराउदै लैजाने, मदिरा/धूमपानको प्रयोग गर्नुहुदैन । साथै कडा परिश्रम गर्ने, पसिना आउने क्रियाकलाप गर्न चिकित्सकको सुझाव छ ।
नेपाल सरकारले मधुमेह रोगका विरामीलाई भनेर छुट्टै कार्यक्रम ल्याउन सकेको छैन । ग्रामीण क्षेत्रका मानिसमा अझै मधुमेह रोगबारे उचित चेतना अभिवृद्धी गर्न सकिएको छैन ।
जसका कारण थुप्रैंले ज्यान गुमाउन बाध्य छन् । यस्तोमा जनचेतनामुलक कार्यक्रम ल्याउनु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्