Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचनमा सुरक्षा र मौसम मुख्य चुनौती (भिडियो)


0
Shares

पहिलो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा बढेको सुरक्षा र प्रतिकूल मौसमको चुनौतीसँगै निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको तयारी पूरा भएको जनाएको हो ।

निर्वाचनका लागि मतपेटिका, मतपत्र, नामावलीलगायतका सम्पूर्ण सामग्रीहरु सम्बन्धित जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पहिलो चरणको निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भन्दै मंसिर ७ गतेभित्र सम्पूर्ण निर्वाचन सामग्री र कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने जानकारी दिए ।

प्रवक्ता ढकालले पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि अब मतदानस्थल र मतदान केन्द्र केन्द्रित कामहरुमात्र बाँकी रहेको जानकारी दिए ।

निर्वाचन आयोगले आफूले गर्नुपर्ने सम्पूर्ण व्यवस्थापकीय काम पूरा गरेको जनाएपनि निर्वाचनमा चुनौती भने थपिनेक्रममा छन् ।

पछिल्लो समय उम्मेदवारमाथि भइरहेको शृंखलाबद्ध आक्रमणले निर्वाचन सुरक्षा चुनौती बढाएको छ । यस्तै, हिमाली तथा उच्च पहाडी भेगमा मौसमको चुनौती पनि उत्तिकै छ ।

निर्वाचन आयोगका प्रवक्ता ढकालले पहिलो चरणमा हुने निर्वाचनमा सुरक्षा र मौसमको चुनौती रहेको भन्दै चुनौतीलाई व्यवस्थापन गर्दै लैजानुपर्ने बताए ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।

पहिलो चरणको निर्वाचनका लागि चार हजार ४६५ मतदानस्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

भिडियो हेर्नुहोस्