मतदानस्थलहरु साँघुरो भएका कारण मत हाल्न मतदातालाई समय बढी लाग्ने भएकाले बेलुका ५ बजेसम्म मतदान गर्न भ्याउन पनि मुस्किल पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले जानकारी दिए ।
राईका अनुसार एउटै मतदान स्थलमा तीन÷चार वटासम्म मतदान केन्द्र निर्धारण गरिएकाले ठाउँ साँघुरो हुँदा मतदानमा ढिलाई हुने देखिएको हो ।
अधिकांश मतदान स्थल विद्यालयको खेल मैदानमा तोकिएको छ । त्यस्ता स्थानमा पनि नयाँ भवन निर्माण भइरहेकाले ठाउँ साँघुरो भएकाले मतदान गर्न धेरै समय लाग्ने देखिएको जिल्ला निर्वाचन अधिकारी राईले बताए ।
पाँचथरमा निर्वाचन गराउन १ हजार ४ सय कर्मचारी खटिनेछन् । १६५ मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ गरि ४ सय ९८ वटा मतपेटिका राखिनेछन् ।
मतदानपछि भेला गरिएका मतपेटिका ४ स्थानमा राख्ने तयारी भएको छ । पाँचथरमा १ लाख २५ हजार २१९ जना मतदाता छन् ।
यता, दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी इलाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
प्रजिअ पोखरेलको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु संलग्न निर्वाचन सुरक्षा कमाण्ड गठन गरी जिल्लाको शान्ति सुरक्षा मजबुत बनाईएको छ ।




प्रतिक्रिया दिनुहोस्