
बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उनीहरुको दिनचर्या मतदातालाई फकाउनेमै बित्छ । काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार पनि त्यही चटारोको चेपमा छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसकी नेत्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत र नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईबीचको सीधा टक्कर देखिएको छ । दुवैजना विकासलाई प्रमुख एजेन्डा बनाएर चुनावी प्रचारमा होमिएका छन् ।
मतदाताको मन आफूतिर तान्न क्षेत्रमा सडक, खानेपानी र सुविधासम्पन्न आवास क्षेत्रजस्ता नारा उनीहरुको मुखबाट हट्दैन ।
काठमाडौं भएर पनि यस क्षेत्रमा थुप्रै त्यस्ता ठाउँ छन्, जुन पिछडिएका वस्तीहरुको झलक दिन्छन् । सुगम बौद्धदेखि दुर्गम मूलखर्क, तारेभीर, गागलफेदी सबैतिर चुनाव कै रन्को छ ।
सडक विस्तारदेखि पूर्वाधार विकासका अरु नारा देखाउँदै उम्मेदवारहरु मतदाताको घर–आँगन चहार्दैछन् ।
चुनावी प्रचारमा होमिएकी कांग्रेस नेत्री बस्नेत यातायातको सहज पहुँच नभएपनि सबै मतदातासम्म पुग्ने बताउँछिन् ।
सडक नै विकासको प्रमुख आधार भएकाले दुर्गम ठाउँमा बाटो पुर्याउने बस्नेतको अठोट छ ।
सुन्दरीजल, गागलफेदीजस्ता ठाउँहरु जलभन्डारकोरुपमा रहेकाले त्यस क्षेत्रलाई सिमसार र पर्यटन क्षेत्रकारुपमा विकास गर्ने योजना पनि कांग्रेसको छ ।
चुनावी माहोल निकै तातेको देखिन्छ । भोट माग्ने मागिरहेका छन् । रौसिने रौसिरहेका छन् । नाचगान गर्नेलाई नाचकै रमाइलो छ ।
एमाले उम्मेदवार राईले आफू जनताको दुःख–सुखको सारथि भएको दाबी गर्दै कृषि, पर्यटन र सुन्दर व्यवस्थित सहर आफ्नो अभियान भएको भन्न छुटाउँदैनन् ।
जनजाति भएकाले जित्ने दाबी राईले गरिरहँदा बस्नेत भने महिला भएकैले जित्ने आधार पेस गर्छिन् ।
दुवैले आफ्ना जितका आधा तेस्र्यारहँदा मतदाताले भने उम्मेदवारका योजनालाई पत्याएका छैनन् ।
चुनावमा भोट माग्न आउने र जितेपछि नफर्कनेहरुसँग कुने विश्वास नभएको टिप्पणी उनीहरुको छ ।
दुई वर्षअघि भूकम्पले क्षतविक्षत बनाएका आफ्ना घर बनाउन चासो नदिएकोमा रुस्ट उनीहरु ‘आफ्नो बिल्लीबाठ नहेर्ने नेताका कुन कुरा पत्याउनु ?’ भन्छन् ।
आक्कल–झुक्कल झुल्कने नेताप्रति मतदाताको खासै आशा त छैन । तर, पनि यो कठ्याङ्ग्रिदो जाडोमा गाँस, बाँस र न्यानो कपडाको जोहो गरिदिनेलाई भोट दिने भन्छन्, उनीहरु ।
प्रतिक्रिया दिनुहोस्