
दुईओटै मिर्गौला ‘फेल’ भएर आफ्नो प्राण ‘भगवान भरोसा’ भन्नेदेखि खोक्दा मुर्छित हुनेहरुको पीडा कम्ता दर्दनाक छैन ।
निःशुल्क उपचार भनेर चुनावी घोषणापत्रमा चर्को नारा उराल्ने दलहरुका लागि उनीहरुको पीडाले गिज्जाइरहेको प्रस्ट देखिन्थ्यो ।
काभ्रे, धुलिखेलका सुनिल भुजेल । दुवै मिर्गौला काम नलाग्ने भएपछि अहिले पशुपति आर्यघाटनजिकै मृत्युलाई कुरेर बसिरहेको बताउँछन् । भर्खरै ३५ वर्ष उमेरका उनको दुवै मिर्गौलाले काम नगर्ने भएपछि अहिले भगवान भरोसा भन्दै बाँचिरहेका छन् ।
सात दिनअघिमात्र धुलिखेल अस्पतालबाट पशुपति आएका उनी उपचार अभावमै जीवन सकिन लागेको भन्दै गहभरि आँसु बनाइरहेका थिए ।
अहिले परिवारलेसमेत उनलाई वास्ता गर्न छाडेपछि पशुपति आएको उनले बताए ।
पेसाले यातायात व्यवसायमा लागेका भुजेल विगतमा निर्वाचनमा भोट हालेको अनुभव भएतापनि यसपालि आफ्नो आँखाअगाडि मृत्युबाहेक केही नदेखेको बताउँछन् ।
पार्टीहरुले घोषणापत्रमा मिर्गौला रोगीकोबारेमा धेरै गर्छु भन्ने गरेको सुनेका उनी धेरैपटक नेताहरुलाई उपचार लागि ढक्ढकाउन गएपनि रित्तो आश्वासनबाहेक केही नमिलेको बताउँछन् ।
भुजेलजस्तै १० जनाभन्दा बढी रोगीहरु पशुपति आर्यघाटको पश्चिमतर्फको चिसो सिँडीमा मृत्युसँग संघर्ष गरेर बेवारिसे अवस्थामा बसिरहेका छन् ।
धरानबाट १४ वर्षअघि आँखाको उपचार गर्न आएका लामा नामले चिनिने व्यक्ति पनि त्यहीँ भेटिए । विगतमा दुईपटकसम्म भोट हालेका उनले अहिलेको चुनावकाबारेमा केही भेउ पाउन नसकेको बताए ।
जे भएपनि ‘नेताहरुले अशक्तहरुलाई हेरिदिउन्’ उनको भनाइ छ ।
७० वर्ष उमेर पुगिसकेकी नुवाकोट, त्रिशूलीकी कान्छी तामाङ पनि खुट्टाको दीर्घरोगले थला परिसकेकी छन् । वृद्धाभत्ताकोबारेमा पनि उनलाई केही थाहा छैन ।
आसन्न चुनावकोबारेमा केही थाहा नपाएकी उनले चाहना भएपनि पनि खुट्टा नचल्ने भएपछि भोट हाल्न जान नसक्ने बताउँछिन् ।
पशुपति आर्यघाटनजिकै दीर्घरोगका कारण मृत्युसँग लडिरहेका दर्जनौं व्यक्तिहरु चिसो छिँडीमा जीवन बिताउन बाध्य भएका छन् ।
चुनावसँग बेखबर रहेका उनीहरुले बेवारिसे अवस्थामा जीवन फाल्न नपर्ने वातावरण देशमा होस् भन्ने चाहना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्