५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


प्रमुख निर्वाचन आयुक्त यादव भन्छन्– ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन


0
Shares

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुखआयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाईएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे । उनले भने, ‘केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नका लागि निर्वाचन आयोग यही मञ्चबाट अपिल गर्न चाहन्छ ।’

उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए ।

उनले भने, ‘फाट्टफुट्ट भएका घटनालाई अतिरञ्जित बनाउने काम भइरहेको छ, ढुक्क हुनुहोस्, सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजनाबारे गृहमन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ ।’ उनले मौन अवधि सुरु भएकाले सुरक्षाको पूर्ण प्रत्याभुतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोर्‍याए । उनले थपे, ‘अब डर र त्रासको अवस्था छैन ।’

यादवले सरकारले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गरेकोसमेत स्पष्ट पारे । उनले भने, ‘सरकारले आचारसंहिताको पूर्ण पालना गरेको छ, यसमा कुनै समस्या छैन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आचारसंहिता पालना गर्नुभएको छ ।’ यादवले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमतिलिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे, ‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं ।’

‘सरकारले जे जस्तो कामगरिरहेको छ, उहाँहरुले हाम्रो सहमतिमै गर्नुभएको छ,’ उनले भने, ‘आचारसंहिता पालनामा मात्रा कम वा बढि त भइहाल्छ नि, तर आचारसंहिता नै पालना भएन भन्नु गलत हुन्छ ।’

यादवले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न उम्मेदवार तथा दलका नेता र कार्यकर्ताहरुलाई आग्रह गरे । त्यस्तै उनले मिडियाहरुलाई पनि समाचार सम्प्रेषण तथा प्रशारण गर्दा अतिरञ्जित नगर्न आग्रह गरे । उनले भने, ‘अतिरञ्जित समाचारहरु आउँदा दुःख लाग्छ, यसले भ्रम सिर्जना हुन्छ, त्यस्तो काम मिडियाका साथीहरुले गर्नुभएन, देशभरिका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक संघसंस्थाहरुले निर्वाचन गतिविधि अवलोकन गरिरहेकोले सबैले संयमता र अनुशासन अपाउनुपर्छ ।’

उनले यो निर्वाचन मुलुकमा संविधान कार्यान्वयन गरेर स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्ने खुड्किलो भएकोले पूर्ण रुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।