३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


हुम्लामा सबै मतपेटिका सदरमुकाम ल्याइयो, ३६ केन्द्रका मतपेटिका हेलिकोप्टरबाट संकलन


0
Shares

जिल्लाका ५२ ओटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा संकलन गरिएको हो ।

जिल्ला सदरमुकामनजिक रहेका १६ मतदान केन्द्रका मतपेटिका पैदल ल्याइएको थियो भने टाढाका ३६ मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम सिमिकोट ल्याइएको हो ।

जिल्लाका नाम्खा, चंखेली, अदानचुली, सर्केगाड र ताँजाकोट गाउँपालिकाअन्तर्गत् रहेका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।

सिमिकोट र खार्पुनाथ गाउँपालिकाअन्तर्गतका सबै मतदान केन्द्रका मतपेटिका पैदलै ओसारिएको छ ।

त्यसैगरी, नाम्खा गाउँपालिकामा रहेका ११ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका पैदल ल्याइयो भने ८ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा संकलन गरिएका प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका मतपेटिकाहरु छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ ।

मतपेटिका राखिएको जिल्ला समन्वय समितिको परिसरमा कडा सुरक्षाको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।