२ असार २०८२, सोमबार | Tue Jun 17 2025


सहिदसँग सम्बन्धित अडियो, भिडियो र तस्वीरजस्ता सामग्री तत्काल हटाउन निर्देशन


0
Shares

विशेषगरी प्रदेश नम्बर–२ सहितका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, तस्वीर (अडियो, भिडियो, फोटो) तथा सहिदका तस्वीरलाई सामाजिक सन्चारमाध्यम फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, ब्लग र अनलाइन समाचारमार्फत् राखेको पाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यस्ता सामग्रीबाट सहिदको सम्मानमासमेत आघात पुग्ने भएकाले निर्वाचन आचारसंहिताविपरीतका सामग्री तत्काल हटाउन आयोगले सम्बद्ध सबै प्रयोगकर्तालाई निर्देशन दिएको उनले बताए ।

निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी राखिएका आन्दोलनका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरी राख्नेलाई कानुनअनुसार आवश्यक कारबाहीको दायरामा ल्याउन दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, अनुगमनकर्तालाई आयोगले निर्देशन दिएको जनाएको छ ।

‘सुरक्षा निकायले कार्यनीति र रणनीति परिमार्जन गरी अघि बढ्ने’
निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहितरुपमा सफल तुल्याउन उपलब्ध साधन र स्रोतको अधिकतम् प्रयोग र परिचालन भइरहेको जनाएको छ ।

निर्वाचनका लागि गठित उच्चस्तरीय सुरक्षा समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा समितिको शुक्रबारको बैठकले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायले हरसम्भवका उपाय अवलम्बन गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले दोस्रो चरणको निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ७२ हजारको संख्यामा सुरक्षाफौज परिचालन गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मतदाताको व्यापक सहभागितामा उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निष्कर्ष निकाल्दै बैठकले दोस्रो चरणको निर्वाचनलाई सफल तुल्याउने सिलसिलामा सुरक्षा निकायले आवश्यकताअनुसार कार्यनीति र रणनीति परिमार्जन गरी अघि बढ्ने निर्णय भएको जानकारी दिइयो ।

निर्वाचन आचारसंहिताविपरीत आयोगमा हालसम्म १०२ ओटा उजुरी परेकामा त्यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको जनाउँदै आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्ने सन्दर्भमा सन्चारमाध्यमले पुर्‍याएको योगदानबाट आयोगकोसमेत पृष्ठपोषण भएको उल्लेख गरेको छ ।

निर्वाचनविरोधी क्रियाकलापमा संलग्न आपराधिक समूहलाई कारबाही गर्न सुरक्षा निकायलाई पूर्णरुपमा अधिकार दिइएको बताउँदै निर्वाचन आयुक्त शाहले राजनीतिक दलका नेता, उम्मेदवार, कर्मचारी र मतदातालाई निर्वाचनमा पूर्णसुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको विश्वास दिलाए । रासस