२ असार २०८२, सोमबार | Tue Jun 17 2025


सुरक्षा चुनौती समीक्षाः निर्वाचनमा सहभागी दलहरुबाटै असहयोग भएको आरोप (भिडियो)


0
Shares

सुरक्षा निकायका प्रमुख र आयोगबीच भएको छलफलमा निर्वाचनमै सहभागी दलहरुलाई नै निर्वाचनविरोधी गतिविधि बढ्नुमा दोषी ठहर्‍याइएको छ ।

निर्वाचन आयोग मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहँदा सुरक्षा चुनौतीको विषयमा चिन्तित बनेको छ ।

पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको ठहर गरेको आयोगले केही दिनयता भएका विस्फोटमा म्यादी प्रहरीकोसमेत मृत्यु हुनु र उम्मेदवार नै घाइते हुनेगरी आक्रमणका घटना बढ्नुले आयोग गम्भीर बनेको हो ।

दिन–दिनै सुरक्षा चुनौती बढेपछि आयोगले शुक्रबार सुरक्षा निकायका उच्च अधिकृतहरुसँग विगतका घटनाहरुको समीक्षा र आगामी रणनीतिको विषयमा छलफल गरेको छ ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीतिक आवरणमा आतंककारी शैलीमा भइरहेका निर्वाचनविरोधी गतिविधिलाई निरुत्साहित गर्न निर्वाचनमै सहभागी दलहरुबाट असहयोग भएको आरोप लगाए ।

दलका कार्यकर्ताहरुसँग अवाञ्छित गतिविधिको सूचना भएरपनि सुरक्षा निकायसँग समन्वय नगर्दा नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई पनि अप्ठ्यारो भइरहेको उनले बताए ।

दोस्रो चरणको निर्वाचनको सुरक्षालाई लिएर गृह मन्त्रालयलेसमेत आयोगसँग छलफल गरेको छ ।

आगामी निर्वाचनलाई सफल बनाउन गृहले ढुक्क हुने सुरक्षा योजना बनाइसकेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले दाबी गरे ।

मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सदस्यका लागि निर्वाचन हुँदैछ ।

दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ १ हजार ६६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने प्रदेशसभातर्फ २ हजार ८१९ जना मैदानमा उत्रिएका छन् ।

सरकारले निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी खटाउने तयारी गरेपनि ज्यानै जाने गरी भएका आक्रमण र दिन–दिनै हुने गरेका विस्फोटका घटनाले मतदातालाई भने भयभित बनाएको छ ।

भिडियो हेर्नुहोस्