२ असार २०८२, सोमबार | Mon Jun 16 2025


उम्मेदवारको ‘ढुकढुकी’ मतपेटिकाभित्र, मतदाता अडकलबाजीमा दिन कटाउँदै (भिडियो)


0
Shares

यता उम्मेदवार र उनका समर्थक भने मतपेटिकाभित्र कसको मत कति छ ? कसले चुनाव जित्छ ? भन्ने छटपटीमा छन् ।

मतदान सकिए पनि तुरुन्तै गणना नहुँदा पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उम्मेदवार, तिनका समर्थक र मतदाता अन्यौलमा परेका छन् ।

बाकसभित्र बन्द रहेको मतपत्रले कस्को भाग्य फैसला गरेको छ भन्ने अड्कलवाजीमा उनीहरु समय कटाइरहेका छन् । यस्तै अन्योलमा छन्, बझाङवासी पनि ।

जिल्लाभरबाट संकलन गरिएको ४ सय ८० मतपेटीका सदरमुकाममा कडा सुरक्षाबीच राखिए पनि गणनाको समय कुरेर बस्नुको विकल्प उनीहरुसँग छैन । बरु मतपेटिकासँगै उम्मेदवार र कार्यकर्ता सदरमुकाम ओइरिएका छन् ।

कुन ठाउँबाट कति मत आयो ? जित्ने हार्ने सम्भावना कस्तो छ ? भन्ने अड्कलबाजीको बहसमै चोक, चियापसलदेखि घरको चुल्होसम्म तातेको छ ।

लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेदवारले प्रत्यक मतदान केन्द्रमा खटिएका आ–आफ्ना प्रतिनिधिलाई सोधेर आफ्नो पक्षमा कति मत खसेको छ भन्ने हिसाब निकालिरहेका छन् ।

केहि दिन देखि जिल्लामा ह्वात्तै बढेको जाडोको रन्को पनि चुनावी तातोमै मिसिएको छ ।

पारिलो घाम तापेर चुनावी परिणाम आंकलन गर्नु, आफ्नो अनुमान सही हुने दावी गर्नु समूह समूहमा रहेकाहरुको दिनचर्या बनेको छ ।

बिहीबार हुने दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना थालिने हुँदा यो अड्कलबाजीमा होटलहरुको चिया नास्तापनि बिक्ने छ ।

कसले चुनाव जित्छ भन्नेमा स्थानीय बाजी समेत थाप्न हौसिएका छन् । बाम र लोकतान्त्रिक गठबन्धनकै बीचमा मूख्य प्रतिस्पधा रहेको बझाङमा दुबै पक्ष जितको दावी गर्दैछन् ।

१० गते सम्पन्न मतदानमा ६४ प्रतिशत मत खसेको यहाँ १ लाख ४ हजार २ सय ७५ मतदाता मध्ये ६६ हजार ७ सय ५ मतदाताले मताधिकार प्रयोग गरेका थिए ।

(भिडियो हेर्नुहोस)