२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


मुख्यमन्त्रीका दावेदार एमालेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी, को हुन् गुरुङ ?


0
Shares

उनले नेपाली कांग्रेसका उम्मेदवार कृष्ण कोइरालालाई ८ हजार ६६ को फराकिलो मतअन्तरले पराजित गरे ।

गुरुङले २३ हजार १८८ मत ल्याउँदा कोइरालाले १५ हजार १२२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘ख’मा ४१ हजार २७२ मत खसेको थियो ।

यस्तो छ, पृथ्वीसुब्बा गुरुङको जीवनी
एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई गाउँलेले ‘मुखिया’ भनेर बोलाउँछन् । गुरुङ समुदायमा मुखिया गन्यमान्य र उपल्लो दर्जाका जेठो छोरा मानिन्छ ।

गाउँकै विद्यालयमा विज्ञान विषय पढाउँदा–पढाउँदै राजीनामा दिएर गुरुङ वि.सं. २०४३ मै जनपक्षीय उम्मेदवार बनेका थिए ।

उनी २०२७ मा ईशानेश्वरस्थित प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा निर्वाचित भएदेखि राजनीतिमा सक्रिय छन् ।

एमाले तेस्रो पार्टी बन्दा पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उनी ६ हजार बढी मतले कांग्रेस उम्मेदवारलाई हराउँदै विजयी भएका थिए ।

तर, दोस्रो संविधानसभाको निर्वाचन ०७० मा उनी ६७२ मतले कांग्रेसकै उम्मेदवारसँग पराजित भए ।

०४३ यता एमालेबाट लमजुङ क्षेत्र नम्बर–२ (हाल प्रदेश ख)मा हरेक चुनावमा उनी एक्ला उम्मेदवार बन्दै आएका छन् ।

तीन दशकयता हरेकपटक उम्मेदवार बनेपनि एकपटकमात्रै चुनाव जिते, बाँकी पाँचपटक हारे ।

०४३ मा ‘एक वाम–एक ठाम’ नारा दिएर चुनाव लडेका उनी यसपटक वाम गठबन्धनबाट उम्मेदवार बन्दै विजयी भए ।

संविधानसभा निर्वाचन ०६४ मा गुरुङले कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ५ हजार ८८४ मतले पछि पार्दै विजयी भएका थिए । ०७० मा भने उनी कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६७३ मतले पराजित भएका थिए ।

गुरुङ एमालेका पार्टी सचिव र संगठन विभाग प्रमुख हुन् ।

०४१ सालमा घरबारविहीनलाई घर बनाइदिने कार्यको वैचारिक नेतृत्व गुरुङले गरेका थिए । पञ्चायतविरुद्ध लाग्दा तीन महिना बढी उनले जेलजीवन बिताए ।

शान्ति स्थापनापछिको विधायिका सांसद हुँदा पृथ्वीसुब्बा गुरुङ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।