२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


खोटाङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भट्टराई विजयी, को हुन् भट्टराई ?


0
Shares

भट्टराईले ३५ हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसकी सरस्वती बजिमयले २१ हजार ६१३ मत ल्याइन् ।

विजयी भट्टराईले बजिमयलाई १३ हजार ७६४ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

को हुन्, विशाल भट्टराई ?
विशाल भट्टराईको जन्म वि.सं. २०२५ साल चैत २२ गते साविकको खोटाङबजार गाविस वडा नम्बर–९ हालको खोटेहाङ गाउँपालिका–७ मा भएको हो ।

आमा पवित्रा भट्टराई र बुबा पितृप्रसाद भट्टराईका पाँचौँ सन्तानकारुपमा विशाल भट्टराईको जन्म भएको हो । विशाल भट्टराईको बाल्यकाल खोटाङबजारमै बित्यो ।

उनले कक्षा १० सम्मको शिक्षा भगवती माध्यमिक विद्यालय खोटाङबजारबाट २०४३ मा पूरा गरे । त्यसपछि उनी उच्चशिक्षाका लागि २०४४ मा काठमाडौं गए ।

रत्नराज्यलक्ष्मी क्याम्पबाट स्नातक उतीर्ण गरी कीर्तिपुर क्याम्पसबाट २०५३ सालमा नेपाली साहित्यमा डिग्री गरे ।

राजनीतिक यात्रा
विशाल भट्टराईले आफ्नो राजनीतिक यात्रा २०३९ मा भगवती मावि खोटाङबजारबाट प्रारम्भ गरेका हुन् । भट्टराई २०३९ मा भगवती माबिबाट स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।

स्ववियु सदस्यमा निर्वाचित भएसँगै आफूको नेपाली राजनीतिक यात्रा प्रारम्भ भएको उनी बताउँछन् ।

‘त्यो दिनबाट सुरु भएको मेरो राजनीतिक यात्रा अहिलेसम्म चल्दैछ’–उनले भने ।

उनी २०५१ मा महेन्द्ररत्न क्याम्पसको स्ववियु सभापति तथा २०५४ सालमा अखिलको केन्द्रीय कमिटीको प्रचार विभाग प्रमुखको भूमिकामा थिए ।

२०६१ मा जिल्ला कमिटी खोटाङको उपसचिव, २०६३ मा सचिव हुँदै २०६७–२०७० सम्म जिल्ला अध्यक्ष भएर पुनः पार्टी प्रमुखको बागडोर सम्हालेका भट्टराई हाल नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा एमाले खोटाङको पार्टी इन्चार्ज भूमिकामा छन् ।

संसद यात्रा
विशाल भट्टराई २०५६ सालको संसदीय निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बने । तर, नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए ।

यस्तै, २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बने । पुनः तत्कालीन नेकपा माओवादी (हालको माओवादी केन्द्र) का उम्मेदवारसँग हारे ।

उनी २०७० को दोस्रो संविधानसभाको निर्वाचन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्णु राईलाई पराजित गर्दै खोटाङ क्षेत्र नम्बर–२ बाट सभासद÷सांसद बनेका थिए ।