
प्रतिस्पर्धामा जित–हार स्वाभाविक मानिन्छ । तर, जित र हारबीचको अन्तर जब अत्यन्त बढी वा कम हुन्छ, त्यो प्रतिस्पर्धा निकै रोचक मानिन्छ । यसपालिको निर्वाचनमा पनि केही क्षेत्रमा यस्तै रोचक जित–हार भयो ।
हालसम्म घोषणा भएका मतपरिणाममा ठूलो अन्तरले विजयी वा पराजित हुने पहिलो सूचीमा दोलखा रहेको छ । जहाँ एमालेका पार्वत गुरुङले प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले जितेका छन् ।
उनको निकटतम् प्रतिस्पर्धीसँग मतअन्तर नै ३० हजार ४४४ छ । गुरुङले ५५ हजार ४५७ मत ल्याउँदा पराजित बनेका कांग्रेस उम्ेमदवार रुद्र खड्काको जम्मा २४ हजार ८१३ मत छ ।
गुरुङपछि सबैभन्दा ठूलो अन्तरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जितेका छन् ।
झापा–५ बाट निर्वाचित ओलीले २८ हजार ८४२ मतको अन्तर निकाल्दा ५७ हजार १ सय ३९ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार ८४२ मत पाए ।
अन्तरमा दोस्रो भएपनि ओली अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार हुन् ।
यस्तै, धादिङ क्षेत्र नम्बर–१ मा पनि एमालेका भूमि त्रिपाठीले कांग्रेसका विश्वप्रसाद अर्याललाई दोब्बर बढी मतले हराए । त्रिपाठीले ४९ हजार १२१ मत ल्याउँदा अर्यालले २१ हजार ९६८ मतमात्र पाए । त्रिपाठीले २७ हजार १५३ मतले अर्याललाई हराएका हुन् ।
रूपन्देही–२ मा एमालेका उपमहासचिव विष्णु पौडेलले २२ हजार ६३ मतको अन्तरमा कांग्रेसका युवराज गिरीलाई हराए । पौडेलले ४४ हजार ९ मत ल्याए भने गिरीको २१ हजार ९ सय ४६ मतमात्र आयो ।
राजपा नेपाल अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले महोत्तरी–३ बाट दोब्बर बढी मत ल्याएर जिते । उनले निकटतम् प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीभन्दा १७ हजार ३३८ मत बढी ल्याएका छन् । ठाकुरले २५ हजार ७८५ मत ल्याउँदा चौधरीले ८ हजार ४४७ मतमात्र प्राप्त गरे ।
रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन र रुकुम पश्चिममा जनार्दन शर्माले पनि दोब्बर बढीको फराकिलो अन्तरमा जितेका छन् ।
पुनले २० हजार ७४१ मतको फरकमा जितेका छन् भने रुकुम पश्चिममा शर्माले १८ हजार ७४३ मतको फरकमा जिते ।
रुकुम पूर्वमा माओवादीकी कमला रोकाले पनि दोब्बर बढी मत ल्याएर जितिन् । उनले १० हजार ४३४ मत ल्याउँदा कांग्रेसका हरिशंकर घर्तीमगरले ४ हजार ४०६ मतमात्र प्राप्त गरे ।
डोल्पामा एमालेका धनबहादुर बुढाले झन्डै चौबर बढी मतान्तरमा कांग्रेसका अंगदकुमार बुढालाई हराए । धनबहादुरले ११ हजार ७६१ मत ल्याउँदा कांग्रेसका बुढाले ३ हजार १६७ मतमात्र प्राप्त गरे ।
यस्तै, सुनसरीको क्षेत्र नम्बर–१ मा एमालेका जयकुमार राई पनि दोब्बर मतान्तरले विजयी भए । उनले ४४ हजार ५२८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले २२ हजार १२३ मतमात्र प्राप्त गरे ।
यस्तै, काभ्रे क्षेत्र नम्बर–२ बाट एमालेका गोकुल बास्कोटाले कांग्रेसका उम्मेदवार मधु आचार्यलाई १७ हजार ८४८ मतान्तरले हराए ।
यस्तै, कन्चनपुर क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर पनि दोब्बर मतान्तरले विजयी भइन् । उनले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।
यसपटकको चुनावमा निकै कम अन्तरले हार्ने पनि उत्तिकै छन् । तीमध्ये पहिलो नम्बरमा छन्, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ।
तनहुँ क्षेत्र नम्बर–२ ‘क’मा कांग्रेसका उम्मेदवार पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतले हार्न पुगे ।
वाम र लोकतान्त्रिक दुवै गठबन्धनलाई पछि पार्दै हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतान्तरले जिते ।
यस्तै, उदयपुर क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार मञ्जुकुमारी चौधरी नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्कासँग ५४८ मतले पराजित भइन् ।
प्रतिक्रिया दिनुहोस्