
फाइल तस्वीरमा रेशम चौधरी (बीचमा) ।
प्रहरीको फरार सूचीमा रहेका राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् ।
चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मतमात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ छ ।
कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २ सय ३ छ ।
चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् । उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । यो घटनाका मुख्य योजनाकारका रुपमा प्रहरीले रेशमलाई लिएको छ ।
कैलाली क्षेत्र नं १ थारु बाहुल्य क्षेत्र हो । प्रहरीको फरार सूचीमा भए पनि रेशमलाल चौधरीले लुकीछिपी चुनावको प्रचार प्रशार गरेका थिए ।
चुनाव जितेपछि रेशमलाल चौधरीले जनताले सिंहदरवारको ढोका आफ्नो लागि खोलिदिएको प्रतिकृया दिएका छन् ।
कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले आफुहरु कानुनको पालना गर्ने भएकाले अभियूक्तलाई खोजेर पनि गिरफ्तार गरिने बताए । उनले रेशमलाई पक्राउ गरी अदालत बुझाउने बताए ।
प्रतिक्रिया दिनुहोस्