२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


दोलखामा ३२ उम्मेदवारको जमानत जफत


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका दोलखा जिल्लाका ३८ जनामध्ये ३२ जना उम्मेदवारले निर्वाचन ऐनअनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ बमोजिम ३२ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ मा निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

सो व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ ९ दल र ४ स्वतन्त्रसहित १३ जनाको जमानत जफत भएको छ ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘क’तर्फ ५ दल र ५ स्वतन्त्रसहित १० जना र प्रदेशसभा सदस्य ‘ख’तर्फ ६ दल र ३ स्वतन्त्रसहित ९ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा १३ जनाको १० हजार रुपैयाँका दरले १ लाख ३० हजार तथा प्रदेशसभा सदस्यमा १९ जनाको ५ हजार रुपैयाँका दरले ९५ हजार गरी कुल २ लाख २५ हजार रुपैयाँ जमानत जफत भएको सो कार्यालयले जनाएको छ ।