२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


भक्तपुर–२ मा नेमकिपाकै धरौटी जफत


0
Shares

क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार सरोजराज गोसाई र ‘ख’ का उम्मेदवार प्रेमजन थापा श्रेष्ठको धरौटी जफत भएको हो ।

निर्वाचनमा सहभागी दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्दाको धरौटी रकम फिर्ता लिन कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेर राईले जानकारी दिए । १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने उनले बताए ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नम्बर–२ मा कूल मतदाता ८३ हजार ९३० रहेको र तीमध्ये कूल ६४ हजार ४५३ मत गणना भएका थिए । गणना भएका मतमध्ये नेमकिपाका थापा मगरले जम्मा ५ हजार ४७१ मत मात्रै प्राप्त गरे ।

यसक्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका महेश बस्नेत र प्रदेशसभा सदस्य ‘क’मा शशीजंग थापा र ‘ख’मा राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

नेमकिपासँगै विवेकशील साझा, नेकपा (माले), राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति, जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टीले पनि धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशील साझाबाहेकका दलले ३०० मत पनि कटाउन सकेनन् ।

सोहि क्षेत्र प्रदेशसभा सदस्य ‘क’ मा कूल ४४ हजार ८६ मतदाता रहेको र तीमध्ये ३३ हजार ९०१ मत गणना भएको थियो । मत गणनाको परिणामलाई हेर्दा नेकपा एमाले र नेपाली कांग्रेसबाहेक अन्य दलले धरौटी बचाउन सकेनन् ।

प्रदेशसभा ‘ख’ मा पनि एमाले र कांग्रेसले मात्रै धरौटी बचाएका छन् । उम्मेदवारी दिने दलहरूमध्ये नेमकिपा, विवेकशील साझा, संघीय समाजवादी फोरम, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, र नेपाल दलित पार्टीको धरौटी जफत भएको छ ।

क्षेत्र नम्बर–१ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य ‘क’ र ‘ख’ मा नेमकिपा, एमाले र कांग्रेसको मात्रै धरौटी बचेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल, तथा सोहि क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ मा एमालेका हरिशरण लामिछाने र ‘ख’मा नेमकिपाकै सुरेन्द्रराज गोसाई विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ विवेकशील साझा, एराप्रपा (राष्ट्रवादी), नयाँ शक्ति, चुरेभावर लोकतान्त्रिक पार्टी, जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चाले धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशिल साझाबाहेकका दलले ३०० मत पनि कटाउन नसकेको कार्यालयका प्रमुख राईले जानकारी दिए ।

प्रदेशसभा सदस्य ‘क’मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका डिपी ढकालले ७८३ मतमात्रै प्राप्त गरेका छन् भने ढकालसँगै विवेकशील साझा, राप्रपा, नेपाली कांग्रेस (वि.पि.) नयाँ शक्ति र देशभक्त गणतान्त्रिक मोर्चाले ५०० मत पनि कटाउन नसकेपछि धरौटी जफत भएको हो । रासस