२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पूर्वगृहराज्यमन्त्रीले तेस्रोपटकमा गुमेको साख फर्काए


0
Shares

नवलपरासीको महेसपुरस्थित घर भएका कँडेल योसँगै तेस्रोपटक त्यस क्षेत्रबाट विजयी भएका हुन् ।

अहिलेसम्म भएका ६ ओटा निर्वाचनमा लगातार पाँचपटकसम्म उनले पश्चिम नवलरासीको परासी क्षेत्रबाट पार्टीबाट टिकट पाउन सफल भएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव पूर्वजिल्ला सभापतिसमेत रहेका कँडेलले २०४८ बाहेक सबै निर्वाचनमा पार्टीबाट टिकट पाएर उम्मेदवारी दिँदै आएका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने उनी पराजित भए ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कँडेल यसअघि २०५१ र २०५६ सालको निर्वाचनमा पनि विजयी भएका थिए ।

दुईओटा निर्वाचमा निर्वाचित उनी कांग्रेसबाट खुमबहादुर खड्काको ‘कोटा’बाट दुवैपटक गृहराज्यमन्त्री बनेका थिए ।

कँडेल पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालसँग पराजित भएका थिए । २०७० सालमा भने आफ्नै पार्टीबाट ‘बागी’ उम्मेदवार उठेपछि उनी नेकपा एमालेसँग पराजित भए ।

त्यसबेला आफ्ना बागी उम्मेदवारका समर्थक बनेपछि कारबाहीमा परेका बैजनाथ कलवारलाई कँडेलले अहिले आफ्नै क्षेत्रको प्रदेशसभा–२ बाट टिकट दिलाएर चुनावमा उतारेका थिए ।

आफूसहित कलवारलेसमेत त्यस क्षेत्रको प्रदेशसभाबाट चुनाव जितेपछि लगतार दुईपटकसम्म गुमेको यस क्षेत्रको आफ्नो साखलाई कँडेलले फर्काएका हुन् ।

तत्कालीन क्षेत्र नम्बर–४ र ५ बाट उम्मेदवारी दिएका कँडेल अहिले भने ती दुवै क्षेत्र समेटेर बनेको निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

उनले माओवादी केन्द्रका उम्मेदवार घनश्याम यादवलाई १० हजार बढी मतको भारी अन्तरले पराजित गरेका हुन् । कँडेलले ३४ हजार १३० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले २३ हजार ८९८ मत पाए ।