
मतपरिणाम हेर्दा भित्री मधेसमासमेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेसी मूलका उम्मेदवार विजयी भएका छन् ।
मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेस आन्दोलनको प्रभाव रहे पनि जनताले जातीयता र क्षेत्रीयताका आधारमाा नभइ राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखिएको छ ।
यही मंसिर २१ गते भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर–१, २ र ३ मा क्रमशः नेकपा एमालेका घनश्याम खतिवडा, नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेसी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् ।
भित्री मधेस मानिने सिरहा क्षेत्र नम्बर–३ मा एमालेका लीलानाथ श्रेष्ठले संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवलाई र सिरहा–१ मा कांग्रेसका प्रदीप गिरीले वाम गठबन्धनका गंगाप्रसाद यादवलाई पराजित गरेका छन् ।
महोत्तरी–१ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले संघीय समाजवादी फोरमका लक्ष्मी महतो र सोही जिल्लाको क्षेत्र नम्बर–२ मा राजपा नेपालका शरत्सिंह भण्डारीले कांग्रेसका किरण यादवलाई पराजित गरेको अर्काे रोचक उदाहरण पनि छ ।
सर्लाही–१ मा राजपाका प्रमोद साह, धनुषा–४ मा एमालेका रघुवीर महासेठ र सर्लाही–४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेसी अनुहार हुन् ।
विगतमा मधेस आन्दोलनमा लागेका र एमालेका कारण आफूहरुको संविधान संशोधनको माग पूरा नभएको आवाज उठाउँदै आएका नेता हृदयेश त्रिपाठीले एमालेको सूर्य चिह्न लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा विजय हासिल गरेका छन् ।
प्रदेश–२ कै अर्काे जिल्ला रौतहट–२ मा कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन् ।
राजपा र फोरमको तालमेलका कारण तराई–मधेसमा ती दल पहिलो भएका छन् भने एमाले, कांग्रेस र माओवादी केन्द्र पछाडि परेका छन् ।
विश्लेषक डा. राजेश अहिराजले मधेसी जनताले मूलतः संविधान संशोधनका पक्षमा मत जाहेर गरेको तर प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रदेश नम्बर–२ का कुल ३२ स्थानमा वाम गठबन्धन सात स्थानमा विजयी हुनुले जनताले मेलमिलापको सन्देश पनि एकैसाथ दिएको बताउँछन् ।
एमालेलाई मधेसविरोधी चित्रण गर्न खोजिएपनि समानुपातिकतर्फ उसले पाएको सम्मानजनक मतले पनि त्यही संकेत गरेकाले एमालेले मधेसी भावनालाई सम्बोधन गर्नुपर्ने अहिराजको भनाइ छ ।
मधेसी पत्रकार संगठनका अध्यक्ष मोहनकुमार सिंह तराई–मधेसमा मधेस आन्दोलनपूर्व देखिने सामन्ती सोच वा डर, त्रासका कारण एकै जाति, समूहका नेतालाई बढी विजयी गराइएको पाइएपनि मधेस आन्दोलनमा त्यहाँका पहाडी समुदायले पनि स्वामित्व लिएकाले अहिलेको परिणाम आएको बताउँछन् ।
‘कुनै दल, उम्मेदवार वा जातिका आधारमा होइन, जनताकाबीचमा काम र लोकप्रियताका कारण जनादेश आएको छ । यसलाई ध्यान दिएर विजेताले काम गर्नुपर्छ’–सिंहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्