२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


समानुपातिकतर्फको मतगणना सम्पन्न, कसले कति मत पाए ?


0
Shares

मत चढाउने काम अझै बाँकी भएकाले अन्तिम मत संख्यामा केही फरक पर्नसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार समानुपातिकमा पनि सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ । एमालेले दोस्रो दल नेपाली कांग्रेसभन्दा ४५ हजार १०५ मत बढी पाएको छ ।

एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत छ । माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ ।

समानुपातिकतर्फको गणनामा शुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललाई पछि पारेको संघीय समाजवादी फोरम नेपाल गणना अन्तिम चरणमा आइपुग्दा पछि परेको छ । अन्तिम परिणाममा राजपा ४ लाख ७२ हजार २५४ मत बटुल्न सफल भएको छ भने संघीय समाजवादी फोरमको पक्षमा ४ लाख ७० हजार २०१ मत परेको छ ।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकमा तीन प्रतिशत मत ल्याउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने प्रावधानअनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय फोरम पाँच पार्टीले मात्र उक्त थ्रेसहोल्ड कटाएका छन् । अब यी पाँच दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने छन् ।

यस पटकको निर्वाचनमा एक लाख मत कटाउने पनि सातवटा दलमात्र भए । मान्यताप्राप्त पाँचबाहेक विवेकशील साझाले दुई लाख मत कटाउँदा राप्रपाले दुई लाख मत पनि जोड्न सकेन ।

प्रत्यक्षतर्फ एक सिट जितेका नेमकिपा, राष्ट्रिय जनामोर्चा र नयाँशक्ति पार्टीले त एक लाख भोट पनि जुटाउन सकेनन् । प्रत्यक्षमा सिट जितेका यी दलका सांसदको हैसियत पनि अब स्वतन्त्रमात्र रहनेछ ।

दलहरुले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ ।

प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम ४२६ मत हाम्रो पार्टी नामक दलले प्राप्त गरेको जनाइएको छ ।

जिल्लागत रुपमा हेर्दा समानुपातिकतर्फ एमालेले ५० जिल्लामा पहिलो मत पाउँदा कांग्रेसले १६, माओवादीले ६, राजपाले ३ र फोरमले १ जिल्लामा पहिलो भोट पाएका छन् ।

यता, प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट चयन हुने सांसद्को नाम टुंगो लाग्न दुई हप्ता लाग्ने भएको छ । समानुपातिकतर्फको मतगणना सकिएपनि सांसद छान्ने प्रक्रिया जटिल भएकाले नामको टुंगो लगाउन करीब दुई हप्ताको समय लाग्ने देखिएको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दुई/तीन दिनमा सबै क्षेत्रबाट मतदान अधिकृतले मतको सनाखत गरी लिखित विवरण पठाइसकेपछि सम्बन्धित दललाई उनीहरुले पाएको सिट संख्या तोकी पठाउने बताए । त्यसपछि दलहरुलाई एक हप्ता जतिको समय दिएर नाम टुंगो लगाउन दिने तयारी भएको छ । यी प्रक्रिया पूरा गरेपछि मात्र समानुपातिक तर्फबाट चुनिनेहरुको नाम टुंगो लाग्ने उनले बताए ।