१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप अब १२.२ किलोमिटर ओछ्याउन बाँकी


0
Shares

वीरेन्द्र कर्ण (रासस)

वीरगन्ज, पुस ५ । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप अब १२.२ किलोमिटरमात्र ओछ्याउन बाँकी रहेको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराकाअनुुसार नेपालतर्फको ३६.२ किलोमिटर भू–भागमध्ये २४ किलोमिटर क्षेत्रमा जनिनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ ।

‘तीव्रगतिमा बाँकी काम भइरहेको छ’–परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौड्यालले राससलाई भने–‘बाधा–अवरोध नभए भारत, विहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत् तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ ।’

परियोजनाअन्तर्गत् बाराको जीतपुर बजारदेखि उत्तरतर्फको क्षेत्रमा केही औद्योगिक प्रतिष्ठानले सडकछेउमै ‘ब्लक’ निर्माण गरेका छन् ।

सडक विभागले ६ लेनको सडक विस्तार गरिरहेकाले सो ब्लक हटाउने काम तीव्रगतिमा भइरहेको छ ।

नेपालतर्फ पाइप ओछ्याउन बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ९ किलोमिटर बाँकी रहेको छ भने वीरगन्जको रजतजयन्तीचोक, गण्न्कचोक बाइपास क्षेत्रमा पाइप क्रसिङकोे काम सम्पन्न भएको छ ।

यसैगरी, गन्डक क्षेत्रको उत्तरतर्फ ४६८ मिटर क्षेत्रमा ड्रिलिङ गरी पाइप ओछ्याइएको छ ।

उता, भारतको मोतिहारीदेखि रक्सौल नाकासम्म ३३.७ किलोमिटर भू–भागमध्ये ३० किलोमिटर क्षेत्रमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ ।

भारततर्फ तीव्रगतिमा काम भइरहेकाले बाधा–अवरोध नआए चाँडै नै बाँकी क्षेत्रमासमेत काम सम्पन्न गरिने भारतीय आयल कर्पोरेसन रक्सौलले जनाएको छ ।

नेपालको ‘लाइफलाइन’कारूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको बताइएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणकाक्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए ।

पथलैयादेखि अमलेखगन्जसम्म ८ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन जाने भएकाले निकुञ्जभित्रका ६ हजार हरिया रूख काटिएपछि त्यस क्षेत्रमा पनि जमिनमुनि पाइप ओछ्याउने काम सुरु हुने कार्यालयले जनाएको छ ।

‘नेपालतर्फ जमिनमुनि ओछ्याइएको पाइपको रेडियोग्राफी र हाइड्रो परीक्षण गरिनेछ । परीक्षणपछि पाइपमा १५ हजार भोल्टेज भएको विद्युत् प्रवाह गरी पाइपलाई दिनभरि जाँच गरिनेछ’–इन्जिनियर पौड्यालले राससलाई भने–‘जमिनमुनि ओछ्याइएको पाइपमा खराबी देखिए उपकरणको माध्यमबाट थाहा पाउन सकिन्छ ।’

यस्तै, पाइपमा कहीँ–कतै खराबी देखिए सो पत्ता लगाउन पाइपसँगै अप्टिकल फाइबर जडानको कामसँगसँगै भइरहेको बताइएको छ ।

पाइप बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भन्डारण गर्न अमलेखगन्ज आयल निगमको डिपोमा तीन हजार ९०० किलोलिटर क्षमता भएका दुईओटा तथा चार हजार १०० किलोलिटर क्षमता भएका दुईओटा गरी चारओटा ट्यांकरको मर्मत–सम्भार द्रुतगतिमा भइरहेको छ । एउटा ट्यांकर तयार भइसकेको छ ।

पाइपलाइन निर्माण सम्पन्न भएपछि भारत, विहारको राजधानी पटनाबाट प्रतिघन्टा २५० किलोलिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिनेछ । पहिलो चरणमा परीक्षणकारूपमा डिजेल आउने बताइएको छ ।

जमिनबाट साढे दुई मिटर तल तथा पौने ११ इन्चको ‘माइल स्टिल’ भनिने कालो रङको पाइप राखिएकाले खिया भने लाग्दैन ।

यो परियोजना सन्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने सडकजामको समस्या हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास लिइएको छ ।