
प्रदीप पौडेल (इमेज)
पुस २ गते । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार दिउँसो पोखरा आइपुगेका छन् ।
उनी पूर्वरानी कोमलसँगै बुद्ध एअरको विमानबाट पोखरा आएका हुन् ।
पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा २१ किलोको मालासहित भव्य स्वागत गरियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहितका राजावादी र समर्थकहरुले उनलाई फूलमाला र पन्चेबाजाले स्वागत गरेका हुन् ।
पूर्वराजा शाहले विमानस्थलदेखि विरौटाचोकसम्म करिब दुई किलोमिटर पैदल हिँडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए ।
उनको स्वागतमा पुगेकालेहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘हिन्दुराज्य कायम गर’लगायतका नारा लगाएका थिए । राजावादीहरुले गणतन्त्रविरोधी नारासमेत लगाएका थिए ।
सोक्रममा केहीबेर पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।
पूर्वराजा शाहको कार्यक्रम तालिका भने गोप्य राखिएको छ । स्रोतकाअनुसार उनी दुई सातासम्म पोखरामै बस्नेछन् ।
केही राजनीतिककर्मीसँग भेटघाट र छलफलपछि नयाँ वर्ष मनाएर उनी काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।
उनी नितान्त निजी भ्रमणका लागि पोखरा आएका पूर्वराजा शाहका संवादसचिव डा. फणिराज पाठकको भनाइ छ ।
उनको भ्रमणको चाँजोपाँजो मिलाउन एक टोली केही दिनअघि नै पोखरा आइपुगेको थियो ।
उनलाई आउजाउ गर्न गाडीसमेत काठमाडौंबाटै ल्याइएको छ । उनको सुरक्षाको टोली पनि काठमाडौंबाटै आएको छ ।
पोखरामा रहँदा पूर्वराजा शाह दोबिल्लामा भर्खरै बनेको रिसोर्ट माउन्टेन ग्लोरीमा बस्नेछन् ।
प्रतिक्रिया दिनुहोस्