२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


‘राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा केही दिनभित्रै’


0
Shares

आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्तरूपमा भेटी उक्त आग्रह गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार प्रमाणीकरण गरेपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो ।

सो अवसरमा डा. यादवले प्रदेशप्रमुख नियुक्ति र प्रदेशसभा सदस्यले शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र पदाधिकारीलाई धन्यवाद तथा बधाइ ज्ञापन गरेका थिए ।

डा. यादवले पनि निर्वाचन सफल बनाउन सरकारले पुर्‍याएको सहयोगको सराहना गर्दै प्रधानमन्त्रीसमक्ष बधाइ ज्ञापन गरेको आयोगले जनाएको छ ।

भेटका अवसरमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह पनि उपस्थित थिए । रासस