Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इपिएल क्रिकेट : ललितपुर क्वालिफायरमा प्रवेश


0
Shares

काठमाडौं, पुस १ । भैरहवा ग्ल्याडिएटर्सलाई ६ विकेटले हराउँदै ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।

कीर्तिपुर मैदानमा भएको खेलमा भैरहवाले दिएको ९३ रनको सामान्य चुनौती ललितपुरले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । ललितपुरलाई जिताउन पवन शर्राफले २५ तथा जयकिसन कोल्सवालाले २२ रन जोडे । 

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा अलआउट हुनुपूर्व ९२ रन जोडेको थियो । भैरहवाका लागि नेदरल्याण्ड्सका खेलाडी रायन टेन डोस्चेटले ३७ रन जोड्दा भारतका रविइन्दर सिंहले २५ रनको योगदान दिए । बलिङतर्फ ललितपूरका सन्नी पटेलले ५ विकेट लिए । 

यो जितसँगै ललितपुरले ५ खेलबाट ८ अंक जोड्दै क्वालिफायरमा ठाउँ बनाएको छ । पराजित टोली भैरहवाले भने काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीच सोमबार हुने समूह चरणको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

ललितपुर ८ अंकबाट शीर्ष स्थानमा रहँदा भैरहवाको ६ अंक छ । त्यसैगरी एक खेल कम खेलेको काठमाडौंको पनि ६ अंक छ । विराटनगरको ४ अंक छ । त्यस्तै चितवनको पनि ४ अंक भएका अवस्थामा समूह चरणको अन्तिम खेलमा काठमाडौं र विराटनगरबीचको खेलबाटै क्वालिफायर र प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ । सबै खेल हारेर पोखरा राइनोज भने बाहिरिइसकेको छ ।