
‘फ्रिडम फोरम’ले सोमबार सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनअनुसार गत वर्ष ६६ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । घटनामा २३० सन्चारकर्मी प्रत्यक्ष असरमा परेका छन् । अघिल्लो वर्ष २०१६ मा भने २५ मात्र उल्लंघनका घटना भएका थिए ।
उल्लघंनका घटनामध्ये १६ आक्रमण, १३ पक्राउ, ११–११ बाधाव्यवधान र हातपात, नौ ज्यान मार्ने धम्कीलगायत छन् ।
एकवर्षदेखि प्रेस स्वतन्त्रताको निरन्तर अनुगमन गरिरहेको फोरमले तयार पारेको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्रेस स्वतन्त्रता उल्लघंनका घटना प्रदेश नम्बर–३ मा ३४ ओटा भएका छन् ।
त्यसैगरी, प्रदेश नम्बर–१ मा दुई, प्रदेश नम्बर–२ मा १०, प्रदेश नम्बर–४ मा तीन, प्रदेश नम्बर–५ मा छ, प्रदेश नम्बर–६ मा तीन र प्रदेश नम्बर–७ मा आठ ओटा प्रेस स्वतन्त्रता उल्लंघनाका घटना भएका छन् ।
जिल्लागत रुपमा तुलना गर्दा काठमाडौं जिल्लामै सबैभन्दा धेरै २२ घटना भएकाले राजधानीमै सन्चारकर्मी सुरक्षित नभएको जनाइएको छ ।
नीतिगत रुपमा हेर्दा २०१७ मा पनि प्रेस स्वतन्त्रतालाई सहजता प्रदान गर्ने गरी कुनै नीतिगत परिवर्तन भएन । विद्युतीय कारोवार ऐन लामो समयदेखि खारेजी गर्नुपर्ने माग भए पनि खारेज नभएकाले धेरैले अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा खुम्चिनुपरेको छ ।
अध्ययनले लामो समयदेखि प्रचलनमा रहेको मुलुकी ऐन नयाँ रुपमा आएपनि यसका कतिपय प्रावधान अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामैत्री हुन नसकेको जनाएको छ । उल्लंघनका घटनामा सुरक्षा तथा सार्वजनिक निकायका कर्मचारीको संलग्नता बढी देखिएकाले उनीहरूले पत्रकारको हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।
राजनीतिक दलले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न बारम्बर मौखिक प्रतिबद्धता जनाए पनि उनीहरूको समेत हिंसात्मक घटनाका कारण सन्चारकर्मी अभिव्यक्ति स्वतन्त्रता उपभोगबाट वन्चित रहे ।
तीनै तहको निर्वाचन भएसँगै संविधान कार्यान्वयनको ठूलो आधार निर्माण भएपनि निर्वाचनका गतिविधि पत्रकारले सहज रुपमा रिपोर्टिङ गर्न नपाउनु र अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेर जानुले नेपालमा प्रेस स्वतन्त्रतामैत्री वातावरण निर्माण हुन नसकेको फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले बताए । ‘परिवर्तित सन्दर्भमा अझ पत्रकारहरूको हक अधिकार सुनिश्चित गर्न नागरिक समाजको भूमिका अझ बढेर जाने अवस्था छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्