
धान खेतीपछिको दोस्रो ठुलो बालीको रुपमा रहेको गहुँ खेतीका लागि कपिलवस्तुमा रासायनिक मल अभाव भएको हो । गहुँको लागि चाहिने युरिया मलको अभाव भएपछि किसान चिन्तित भएका हुन् । मल अभावको कारण गहुँ, दलहन, तेलहन र तरकारी खेती प्रभावित भएको किसानले गुनासो गरेका छन् । भारतबाट चर्को मूल्यमा गुणस्तरहीन मल खरिद गर्न आफुहरु बाध्य भएको गुनासो किसानको छ ।
कपिलवस्तुको लागि कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले रासायनिक मल उपलब्ध गराउँदै आएको छ । जिल्लामा केही हप्तादेखि मल अभाव हुँदै आएको जिल्लास्थित कृषि सामाग्री कम्पनी लिमिटेड उपशाखाले जनाएको छ । अबको एक हप्ताभित्र जिल्लामा मल आईपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड बहादुरगञ्जका निमित्त प्रमुख अशोक कुमार त्रिपाठीले बताए ।
सिंचाई सुविधा प्रयाप्त नहुँदा जिल्लाका अधिकांश खेत बाँझै छ । तरपनि जसोतसो किसानले खेती गर्दै आएका छन् । समयमा मल नपाउँदाको चिन्ता किसानले हरेक बर्ष व्यहोर्नु परेको छ । कुल खेतीयोग्य जमिन ७२ हजार हेक्टर क्षेत्रफल रहेको जिल्लामा हाल गहुँ खेती ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन र यशोधरा गाउपालिकामा गहुँ खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्