काठमाडौं । एभरेस्ट प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन प्ले अफमा प्रवेश गरेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
खेलमा भैरहवाले दिएको १ सय ५० को लक्ष्य काठमाडौंले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
काठमाडौंलाई जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्ध शतक प्रहार गरे । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५१ रन बनाए ।
यस्तै कप्तान रोहन मुस्तफाले ३६ रन जोड्दा सागर पुनले १३ रन बनाए । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । भैरहवाले खराव सुरुवात गर्दै आठ रनमा दुई विकेट गुमाएको थियो ।
ओपनर प्रदिप ऐरीले खाता खोल्न सकेनन् भने हरिशंकर शाह ४ रनमा आउट भए ।
४० रन बनाउँदा तेस्रो विकेट गुमाएको भैरहवालाई उकास्न रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरले १ सय ९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए ।
रवीइन्दरले अविजित ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप शाहुले एक–एक विकेट लिए ।
आजको जितसंगै एक खेल खेल्न बाँकी छँदै प्ले अफमा पुगेको काठमाडौले ६ अंक जोडेको छ ।
योसँगै काठमाडौं प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ । भैरहवा र ललितपुर यसअघि नै प्ले अफमा पुगिसकेका छन्








प्रतिक्रिया दिनुहोस्