२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


क्षयरोग केन्द्र, प्रहरी र ठेकेदारको मिलेमतोमा लाखौँको माटो अवैधरुपमा विक्रि


0
Shares

क्षयरोग केन्द्र, प्रहरी र ठेकेदारको मिलेमतोमा लाखौँ रुपैयाँ बराबरको माटो अवैधरुपमा विक्रि भएको मध्यपुरथिमि नगरपालिका र स्थानीय बासिन्दाले बताएका छन् ।

भवन निर्माणका लागि जमिन सम्याउने नाममा सिंगो बस्ती नै जोखिममा पारेर केन्द्रको तालीम हलको पछाडि रहेको करिब १०० फिटभन्दा अग्लो ढिस्को भत्काएर निस्किएको माटो गायव भएको नगरपालिका प्रशासन शाखाले जनाएको छ । जनप्रतिनिधि आउनुअघि नै केन्द्र र ठेकेदारको मिलेमतोमा जमिन सम्याउने नाममा निस्किएको करिब एक हजार ट्रक माटो अवैधरूपले विक्रि भएको नगरपालिकाको भनाइ छ ।

उक्त नगरपालिकाको वडा नम्बर–४ मा क्षयरोग केन्द्रको अस्पताल भवन निर्माणस्थलसँगैका बासिन्दा राजन श्रेष्ठले हजारौँ टिपर माटो अवैधरुपमा बिक्री भएको बताए । अर्का स्थानीय बासिन्दा गीता श्रेष्ठले यहाँको सिंगो बस्तीलाई जोखिममा पारेर दैनिक ३० देखि ५० ओटा ट्रकमा माटो ओसारपसार भइरहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘वषौँदेखिको हाम्रो बस्तीको बेवास्ता गर्दै दुई ओटा डोजर लगाएर माटो झिके, माटो झिक्दा हाम्रो बस्तीको घरहरु सबै हल्लियो, बस्ती जोखिममा पर्‍योभन्दा पनि माटो झिक्न र बिक्री गर्न रोकेनन् ।’

सय फिटभन्दा बढी अग्लो ढिस्को ठाडो गरेर माटो झिकेको छ भन्र्दै स्थानीय देवकी श्रेष्ठले गुनासो गरिन् ‘ठाडो गरेर माटो झिक्दा हामी दिनभरि न त चैनले बस्न सक्याँै, न त रातभरि सुत्न सक्यौँ, डोजरले घर उत्तिकै हल्लायो, अहिले १५० फिटभन्दा ठाडो गरेर माटो झिकेर भिर बनाएको छ, यो लच्कियो भने हाम्रो सिंगो बस्ती जान्छ, बस्ती संरक्षण गर्न क्षयरोग केन्द्रलाई भन्दा वास्तै गर्दैन ।’

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय निकाय र जिल्ला समन्वय समितिले बेवास्ता गरी हजारौँ टिप माटो अवैधरुपमा बिक्री गरेको पाइएको बताए । नगरपालिकाको निर्वाचनअघि नै माटो ओसारपसार गरेको पाइएको चर्चा गर्दै उनले माटो बिक्रीबारे अनुसन्धान गर्नुुपर्ने बेला आएको बताए । वडा नम्बर–४ का वडा अध्यक्ष कुमार श्रेष्ठले अवैधरुपमा लाखौँको माटो बिक्री गरेको पाइएकाले केन्द्र र ठेकेदारले माटो कहाँ लगेको हो देखाउनुपर्छ भने ।

जिल्ला समन्वय समितिको स्वीकृतिबिना माटोलगायतका खानीजन्य पदार्थ ओसारपसार गर्न र बिक्री गर्न नपाइने नियम छ । तर, जिल्ला समन्वय समिति खानी शाखाका कर्मचारीले भने क्षयरोग केन्द्रले माटो बिक्री गरेको पत्तो नपाएको प्रतिक्रिया दिएको छ । माटो प्रहरीकै मिलोमतोमा बिक्री भएको बताइएको छ ।

केन्द्रका निर्देशक डा.केदार नरसिंह केसीले भने अस्पताल भवन निर्माणका लागि जमिन उपलब्ध गराएको बताउँदै माटो कहाँ गयो आफूलाई थाहा नभएको बताए । उनले भने, ‘भवन निर्माणका लागि जमिन सम्याउन लाग्ने बजेटसमेत ठेकेदारले लिएको छ, त्यो माटो पन्छाएर अन्तै लग्यो कि, बिक्री गर्‍यो हामीलाई थाहा छैन, ठेकेदारलाई सोध्नुहोस् ।’

यसबारेमा जानकारी लिन खोज्दा अस्पताल निर्माणमा रहेको ठेकेदार सम्पर्कमै आएनन् । भक्तपुरमा एक टिपर माटोको तीनदेखि रु चार हजारमा विक्रि हुँदै आएको छ ।