Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


मनाङको शतप्रतिशत नतिजा कायमै, आर्मीको अपराजित यात्रामा पूर्णविराम


0
Shares

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले शतप्रतिशत नतिजालाई कायमै राखेको छ ।

आठौं चरणको खेलमा शुक्रबार उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दैै मनाङले उपाधि दावेदारीलाई अझ बलियो बनाएको हो ।

विशाल राईले खेलको ३१औं मिनेटमा गरेको गोल नै मनाङलाई जिताउन पर्याप्त भयो ।

हारले आर्मीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । अब मनाङ एकमात्र अपराजित टिम बन्न सफल भएको छ ।

पुलिसको फराकिलो जित 

शुक्रबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसलाई जिताउन अभिषेक रिजाल, रविशंकर पासवान, भरत शाह, तेज तामाङ र निरकुमार राईले १/१ गोल गरे ।

मनाङको २४ अंक

लिग तालिकामा शीर्ष स्थानको मनाङको २४ अंक हुँदा दोस्रो स्थानको संकटा क्लबको २१ अंक छ ।

एक खेल कम खेलेको थ्रीस्टार क्लबको १८ अंक हुँदा चौथो स्थानको आर्मीको १७ अंक छ ।

पाँचौं स्थानको पुलिसको १४ अंक हुँदा हिमालयन शेर्पा ११ अंकसहित छैटौं स्थानमा छ ।

१४ टिम सहभागी लिगमा एक अंकसहित न्यूरोड टिम (एनआरटी) पुछारमा छ ।

शनिबार दुई खेल

शनिबार दुई खेल हुनेछन् ।

बिहान ११ बजे च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबसँग तथा दिउँसो साढे २ बजे थ्रीस्टार क्लबले मच्छिन्द्र क्लबसँग खेल्नेछ । यी खेलसँगै आठौं चरणका खेल सकिनेछन् ।