
अलैंचीपछि किसानले नगदेबालीकारुपमा आलुखेतीलाई प्राथमिकता दिन थालेपछि आम्दानी पनि राम्रो गर्न थालेका हुन् । जिल्लामा वार्षिक तीन अर्ब रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।
नगदेबालीमा सबैभन्दा बढी आम्दानी दिँदै आएको अलैंचीलाई पछ्याउँदै ताप्लेजुङमा आलु दोस्रो नगदेबालीकारुपमा स्थापित हुन थालेको छ ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ७४/७५ मा तीन हजार २५ हेक्टर क्षेत्रफलमा ३७ हजार ८१३ मेट्रिकटन वर्षे र ९२५ हेक्टर क्षेत्रफलमा १० हजार ७३८ मेट्रिकटन हिउँदे आलु उत्पादन भएको छ ।
जिल्लामा बिक्री हुने आलुको औसत मूल्य ६० रुपैयाँ प्रतिकिलो कायम गरेर उत्पादनसँग तुलना गर्ने हो भने जिल्लाकै कृषकले २ अर्ब ९१ करोड ३० लाख ६० हजार रुपैयाँ बराबरको आलु उत्पादन गरेका छन् ।
अघिल्लो वर्ष करिब तीन अर्बको अलैंची जिल्लामा उत्पादन भएपनि बिक्री कम भएको थियो । अलैंची र आलुमा उत्पादन र बिक्री मूल्य कम अन्तर देखिएको छ ।
जिल्लाका सबै गाउँपालिकामा आलु उत्पादन हुने र पकेट क्षेत्र नै छुट्याएर कृषकलाई कृषि कार्यालयले लगानीसमेत गरेकाले कृषक पनि आलु उत्पादनका लागि सक्रिय भएका छन् ।
सबै गाउँपालिकाको वडासम्म सडक नपुग्दा गाउँमा उत्पादित आलु गाउँमा नै खाएर सक्नुपर्ने अवस्था रहेको छ ।
अलैंची उत्पादन भएपछि सीधै बिक्री हुने हुँदा सबैको नजरमा अलैंचीमात्रै पर्ने गरेको देखिएको छ । तर, अलैंचीलाई पछ्याइरहेको गाउँमा उत्पादित आलुले बजार नपाउँदा अर्बौंको आलु गाउँमा नै थन्किएको छ ।
गाउँको आलुले बजार नपाउँदा सदरमुकाममा भने तराईबाट भित्र्याइएको आलु महँगोमा खरिद गर्न स्थानीय बाध्य छन् ।
गाउँ–गाउँमा उत्पादन हुने आलुको मूल्य र मागलाई ध्यानमा राख्दै बजारसम्म पुर्याउनसके अलैंचीपछि आलु उत्पादन र बिक्रीमा ताप्लेजुङ आत्मनिर्भर बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्