
मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा. केसीसँग अदालत प्रशासनले बयान लिएको थियो । मुद्दामाथि बुधबार (भोलि)देखिमात्रै बहस सुरु हुने भएको छ ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा डा. केसीको मुद्दाको सुनुवाइ हुने जनाइएको छ ।
डा. केसीलाई भने प्रहरी हिरासतमै रहनेगरी वीर अस्पतालमा राखिएको छ । सोमबारदेखि अनशनमै रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर देखिएपछि मंगलबार वीर अस्पताल लगिएको हो ।
अदालत प्रशासनले लिएको बयानमा डा. केसीले आफूले नभइ प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अपमान गरेको आरोप लगाए ।
आफूले न्यायाधीश र न्यायपालिकाको नभइ न्यायाधीशको भ्रष्ट प्रवृत्ति र आचरणकोमात्र विरोध गरेको उनको भनाइ थियो ।
अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको जानकारीअनुसार डा. केसीले पराजुलीसँग दुईओटा नागरिकता रहेको, उमेर सच्याएर जागिर खाएको भन्दै उनीमाथि नै छानबिन हुनुपर्ने दाबीसमेत गरे ।
प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा. केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्रेको थियो ।
न्याय प्रशासन ऐन, २०७३ को दफा १७ अनुसार अदालतको अवहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
तर, दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारबाही मुद्दा तामेलीमा राख्न सकिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्