२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


आयल निगमबाट ठगिदै व्यावसायी, पम्पले इन्धन मगाउँनै छाडे


0
Shares

पेट्रोल पम्पमा पुग्दा आयल निगमले चलान काटेको भन्दा कम तेल पुग्न थालेपछि ब्यबसायीहरु मर्कामा पर्न थालेका छन् ।

ब्यबसायीहरुले अग्रिम भुक्तानी गरेर माग गरेको तेल चार प्रतिशत भन्दा बढी मात्रामा घटेर आउन थालेपछि ब्यबसायीहरुले मर्कामा परेका हुन् ।

डोटीमा अहिले पेट्रोल विक्री गर्ने एकमात्र पम्प छ । जुन एसजी फ्यूल सेण्टर हो ।

आयल निगमले पठाएको ट्यांकरमा कम तेल आउन थालेपछि सो पम्पले पनि दुई महिनादेखी पेट्रोल मगाएको छैन् । जसले अहिले जिल्लामा पेट्रोलको अभाव सिर्जना भएको छ ।

आयल निगमले पठाएको तेलको पुरै पैसा लिने तर तेल कम पठाउने गरेपछि आफुले पेट्रोल बेच्न छाडेको ब्यबसायी प्रेम भण्डारीले बताए ।

उनले भने ‘मैले एक पटकमा ६ हजार लिटर पेट्रोल नेपाल आयल निगमबाट राख्ने गरेको छु । जसमा बिगत देखि नै २ सय ४० लिटर (४%) भन्दा बढि पेट्रोल घटेर आउने गरेको छ । मलाई प्रत्येक लिटरमा १ रुपैयाँ भन्दा बढी घाटा हुँदैछ त्यसैले मैले यहि अवस्थामा घाटाखायर प्रेट्रोलको कारोबार गर्न सक्ने अवस्ता छैन ।’

एससी फ्यूल सेण्टरका संचालक भण्डारीले यो समस्यालाई लिएर दुई महिना अगाडी नै नेपाल आयल निगमको शाखा कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालयलाई निवेदन पेश गरिसकेको थियो ।

उक्त कार्यालयबाट कुनै प्रतिक्रिया नआए पछि आफुले थप पेट्रोलको अडर नगरेको उनको भनाइ छ ।

डोटी जिल्ला लगायतका पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थ बितरण गर्दै आएको नेपाल आयल निगम शाखा कार्यालय दिपायलले भने तामक्रमको समस्याले गर्दा पेट्रोलीयम पदार्थमा केहि मात्रामा गिरावट आउने गरेको बताउँदै आएको छ ।

नेपाल आयल निगम शाखा कार्यालय दिपायलका कार्यालय प्रमुख निरन मगरातीले आफु सँग प्रेट्रोल संकलनका लागि स्टोर नभएकाले आयल निगमको धनगढी कार्यालयबाटै प्रेट्रोलको ट्यांकर आउने गरेको बताउँदै तापक्रम मेण्टन गरेर पम्पहरुलाई बितरण गर्न नसकिने भएकाले यस्तो समस्या देखिएको बताए ।

उनले भने ‘चिसो मौसममा तराईबाट प्रेट्रोलको ट्यांकर पहाडमा आउँदा तापक्रम घट्दै जाने गरेकाले केही मात्रामा प्रेट्रोल ट्यांकरमा नै बाँकी रहने गर्दछ ।

जसका कारण यस्तो समस्या देखा पर्दछ । हामीले पम्पहरुले अडरअनुसारको तिरेको पैसा, बिल काटी सकेको अवस्थामा पैसा फिर्ता गर्न मिल्दैन ।’

पम्पमा होइन किरानमा पाइन्छ पेट्रोल

दिपायलमा रहेको जेबि आयल स्टोरमा ०७३ चैत्र २० गते आगलागी भएपछि त्यस यता डोटी जिल्लामा पटक पटक प्रेट्रोल अभाव हुँदै आएको छ ।

अहिले जिल्लामा प्रेट्रोल विक्री गर्ने एउटा मात्रै प्रेट्रोल पम्प छ । जसले तेलमा गिरावट आएको भन्दै प्रेट्रोल खरिद विक्री गर्न रोकेको छ ।

पेट्रोल पम्पमा पेट्रोल अभाव भएपनि डोटीका केही सडकछेउमा रहेका पसल, होटेल तथा ग्यारेजहरुमा पानिको बोतलमा समय अनुसार १ सय ४० देखि दुई सय रुपैंयामा पेट्रोलको विक्री वितरण हुँदै आएको छ ।

डोटीको प्रवेशद्घार, बुडर, गैरा, गोपघाट लगायतका बजारहरुमा पर्ने होटेल तथा पसलहरुमा प्रेट्रोल खरिद बिक्रि हुने गरेको पाइन्छ ।

त्यस्तै दिपायलबाट अछाम जाने सडक छेउमा दिपायल, सिलगढी, शान्तिनगर, सानागाउँ, चौखुट्टे लगायतका बजारहरुमा प्रेट्रोल बिक्रिबितरण हुने गरेको मोटरसाईकल चालकहरु बताउँछन् ।

यस्ता बजारहरुमा अभावको बेला चिनेजानेको मान्छेलाई मात्रै प्रेट्रोल दिने र अन्यवेला सबैलाई विक्री बितरण गरेको पाईन्छ । अभाव र अन्यवेला प्रेट्रोलको मूल्य पनि त्यहि अनुसार कम बढी हुने गरेको छ ।