
२०६२/०६३ को आन्दोलनले मुलुकबाट शाहवंशको अन्त्य गरेसँगै पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस पनि मनाउन छाडिएको थियो ।
तर व्यापक जनदबाब र परिवर्तित परिस्थितिपछि सरकारले यसवर्षबाट फेरि राष्ट्र एकीकरणका नायकलाई राज्यस्तरबाटै सम्मान गर्न थालेको हो ।
दश वर्षअघि माओवादी र संसदीय कित्तामा रहेका दलको संयुक्त बलमा गरिएको आन्दोलनले मुलुकबाट शाहवंशलाई अन्त्य गर्यो ।
अन्तिम राजा ज्ञानेन्द्र शाहले नारायणहिटीबाट बिदाई लिएसँगै राजा र राजपरिवारसँग जोडिएका सबै विषयलाई त्याग्ने लहरै चल्यो ।
ठाउँठाउँमा रहेका राजाहरुका शालिक एकपछि अर्को गर्दै ढालिए । अन्ध उन्माद यतिसम्म देखियो कि राष्ट्र एकीकरण गर्ने नायक पृथ्वीनारायणकै पनि शालिकहरु तोडिए ।
उहाँविरुद्ध प्रायोजित अफ्वाह र हल्लाहरु चलाइए । सिंहदरवारको मूलढोका अगाडी ठडिएको पृथ्वीनारायणको शालिक नै पनि ढाल्ने असफल कोशिस गरियो ।
त्यो बीचमा पनि जनस्तरबाट भने लगातार पृथ्वीनारायण शाहले सिंगो नेपाल निर्माणका लागि पुर्याएको योगदानको स्मरण भइरह्यो ।
बढ्दो वैदेशिक हस्तक्षेपले सिंगो नेपालको भूगोल कायम रहला नरहला भन्ने चिन्ता थपिन थालेपछि राजनीतिक र अन्य पक्षबाट बहसहरु छेडिए ।
फलतः एक दशकको अनवरतको प्रयासपछि फेरि मुलुकले राष्ट्र भौगोलिक एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको कदर गर्ने निर्णयमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पुग्यो ।
त्यसैको फलस्वरुप विहीबार सिंहदरवारको मूलढोकामा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्या भण्डारीदेखि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगे ।
२०६२/०६३को आन्दोलनअघि वर्षेनी मनाइदै आएको यो दिवसको खारेजीबाट मन अमीलो बनाएर बसेका आम जनतापनि सरकारको यस निर्णयबाट खुशी देखिन्थे ।
त्यही खुशीमा सामेल भएका थिए, सरकारका मन्त्रीहरु, निजामती, सैनिक र प्रहरी कर्मचारीहरु । सर्वसाधारणमा त खुशी थपिने नै भयो ।
सत्ता र शक्ति एकातिर हुँदा पनि आँट र हिम्मत गरेर २०६२/०६३ को आन्दोलनलगत्तै पनि यहाँ उभिएर पुष्पगुच्छा चढाउन हिम्मत गर्नेहरु उत्तिकै पुलकित देखिन्थे ।
बृटिश सत्ताको बिगबिगी भएको र सिंगो विश्वमा आफ्नो विजयको ध्वजा फहराइरहेका बेला गोर्खाको सानो भुरे राज्यका यिनै पृथ्वीनारायणले साहस र हिम्मत बटुलेर तात्कालीन समयमा स्वार्थमा विभाजित बनेका बाइसे चौबिसे राज्यलाई जोडेर आजको नेपालरुपी माला उनेका थिए ।
तिनै पृथ्वीले लडेर एकवद्ध बनाएको मुलुकमा रहेर सत्ता र शक्तिको लुछाचुँडी मच्चाइरहने तर उनैलाई सम्मान नगर्ने कृतघ्नताबाट भने कम्तिमा पछिल्लो पुस्ता जोगिन पाउने भएको छ, सरकारले आफ्ना पूर्ववर्तीले गरेको निर्णय सच्याएर ।
शाह वंशमा जन्मिए पनि पृथ्वीनारायण अरु राजाभन्दा फरक र उपल्लो सोचका धनी थिए भन्ने त तात्कालीन समयमा आफ्ना वर्कतले जोडेको राज्य परिवारमा बाँड्ने कुसंस्कार तोड्दै दिएको ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको साझा फूलवारी हो, चेतना भया’ भन्ने अभिव्यक्तिबाटै झल्कन्छ ।
प्रतिक्रिया दिनुहोस्