
कृषि, पर्यटन र औद्योगिक सम्भावनाका कारण आर्थिक संकट व्यहोर्नु नपर्ने विश्वास गरिएको प्रदेश नम्बर–५ कुल १७ हजार ८५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । मगर, थारु, क्षत्री, बाहुनलगायत जातजातिको बाहुल्य रहेको प्रदेश हो, यो ।
प्राकृतिक स्रोत–साधनसहित अन्नको भन्डार भएको प्रदेशकोरुपमा परिचित भएपनि स्रोत–साधनको उचित व्यवस्थापन नहुँदा यस प्रदेशमा गरिबी दर भने उच्च नै छ ।
राष्ट्रिय योजना आयोगकाअनुसार गरिबी दरको आधारमा यो प्रदेश चौथो नम्बरमा पर्छ भने मानव विकास सूचकांकका आधारमा पनि चौथो नम्बरमै पर्छ ।
यस प्रदेशका नागरिकको प्रतिव्यक्ति वार्षिक आम्दानी ९४३ डलर रहेको जनाइएको छ ।
अन्य प्रदेशजस्तो जलविद्युत्मा धेरै सम्भावना नभएपनि नौमुरे, शारदा, झिमरुक, रिडीलगायतका मध्यमखालका विद्युत् परियोजना यस प्रदेशमा छन् ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी यो प्रदेशमा पर्नुले धेरै सम्भावनाको ढोका खोलेको बताइन्छ । धार्मिक पर्यटन र अन्नको भन्डार यस प्रदेशको मुख्य आर्थिक स्रोत हो ।
लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, स्वर्गद्धारी, तानसेन, रानीमहललगायत यस प्रदेशका मुख्य पर्यटकीय क्षेत्र हुन् । यी स्थान पर्यटकका लागि राम्रा गन्तव्य हुनसक्छन् ।
प्रा. डा. गितु गिरी यस प्रदेशलाई पर्यटनसहित हिन्दू, बौद्ध एवं मुस्लिम धर्मको तीर्थस्थलकोरुपमा अगाडि बढाउन सकिने बताउँछन् । कृषिको आधुनिकीकरणसहित पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
प्यूठानको स्वर्गद्धारी, नेपालगन्जको बागेश्वरी तथा जुंगे महादेव, गुल्मीको रेसुंगा, अर्घाखाँचीको सुप्पा देउराली, पाल्पाको तानसेन र रानीमहलले पनि पर्यटनमार्फत् राम्रो आम्दानी गर्नसक्ने देखिन्छ ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालगन्ज क्षेत्रीय विमानस्थल, रुकुम–सल्ले विमानस्थल र तुलसीपुर विमानस्थलले यस प्रदेशलाई हवाईमार्गले जोडेको छ ।
मुलुकको अर्थतन्त्रलाई प्रभाव पार्नसक्ने ठूला आयोजना पनि यही प्रदेशमा छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिंचाइ, बबई र भेरी–बबई डाइभर्सन आयोजना निर्माणाधीन छन् भने नारायणी, राप्ती, बबई र कर्णालीबाट सिंचाइ नहरहरु विस्तार भइरहेकाले कृषि उत्पादन दोब्बर हुने यस क्षेत्रका विज्ञ बताउँछन् ।
कृषिमा आधारित उद्योगधन्दा बढ्ने र औद्योगिक सहरको विकासले अर्थतन्त्र बलियो हुने अपेक्षा यस प्रदेशका नागरिकको छ ।
यो प्रदेशका समथर भू–भाग रहेका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई अन्नको भन्डारकारुपमा विकास गर्नसकिने विज्ञ बताउँछन् ।
दाङको कोइलाखानी तथा अर्घाखाँची र पाल्पामा चुनढुंगा खानी प्राकृतिक स्रोतकारुपमा रहेका छन् ।
नवलपरासी, बुटवल, दाङ र नेपालगन्ज औद्योगिक सहरकारुपमा परिचित छन् भने भैरहवा र नेपालगन्ज मुख्य भन्सार नाका यही प्रदेशमा छन् ।
साँस्कृतिक, पर्यटन एवं औद्योगिक क्षेत्र यस प्रदेशको अवसर रहेको बताउँछन्, व्यवसायी महेन्द्रकुमार श्रेष्ठ ।
खुला सीमाना एवं पहाडी र मधेसीबीचमा सन्तुलन ल्याउनुपर्ने चुनौती यस प्रदेशको रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्