काठमाडौं, मंसिर २६ । राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा ललितपुर प्याट्रिएट्स शीर्ष स्थानमा पुगेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा काठमाडौं किंग्स–११ माथि १० विकेटको शानदार जित हासिल गर्दै ललितपुर शीर्ष स्थानमा पुगेको हो ।
११० रनको सामान्य चुनौती पछ्याएको ललितपुरले १० ओभर ३ बलमा बिनाकुनै विकेटको क्षतिमा विजय हासिल गर्यो ।
भारतीय ओपनरहरु जयकिशन कोल्सवाल र गौरव तोमरले ललितपुरलाई जिताएका हुन् । तोमरले ३५ बलमा ८० तथा कोल्सवालले २८ बलमा २७ रन बनाए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले अन्तिम एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै १०९ रन बनाएको थियो ।
आयरल्यान्डका कप्तान केभिन ओ ब्राइनले सर्वाधिक ४२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा पवन सर्राफले ३ तथा रसिद खान र योगेन्द्र सिंह कार्कीले समान २/२ विकेट लिए ।
भैरहवाको शतप्रतिशत नतिजा
बुधबारै भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई हराउँदै भैरहवा ग्ल्याडिएटर्सले शतप्रतिशत नतिजा कायमै राखेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई ४ विकेटले हरायो ।
विराटनगरले दिएको ९२ रनको सामान्य चुनौती भैरहवाले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरको जितमा नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोस्चेटको २० रन तथा भेषावकरको १५ रन महत्वपूर्ण रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुनुपूर्व ९१ रन जोडेको थियो ।
नेदरल्यान्ड्सका खेलाडी रोलोफ भान डे मर्वेले २५ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा मोहम्मद नाभिदले ४ विकेट लिए ।
ललितपुर शीर्ष स्थानमा
लिगमा ४ खेलबाट तीन जित र एक हारसहित ६ अंकको ललितपुर शीर्ष स्थानमा रहँदा तीन खेलबाट रनरेटमा पछि परेको भैरहवा ६ अंकबाटै दोस्रो स्थानमा छ ।
तीन खेलबाट ४ अंकको विराटनगर तेस्रो, काठमाडौं २ अंकबाट चौथो तथा चितवन टाइगर्स र पोखरा राइनोज अंकविहीन छन् ।








प्रतिक्रिया दिनुहोस्