२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको नाम घोषणा


0
Shares

निर्वाचनको मतपरिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेस गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिस गरेका उम्मेदवारमध्येबाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले सातओटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो ।

प्रदेशसभा सदस्य निर्वाचनमा सातओटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

दलहरुले प्राप्त गरेको मतलाई ‘सेन्टलग’ विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेपछि राजनीतिक दलले छनोट गरी आयोगसमक्ष पठाएका उम्मेदवारलाई प्रदेशसभा सदस्यमा चयन गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।

निर्वाचित उम्मेदवारको नामावली सम्बन्धित प्रदेशप्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन तथा निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने निर्णय भएको उनले बताए ।

प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ः०० बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ ।

आयोगले निर्वाचित सदस्यलाई आयोगले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर आउन भनेको छ । रासस